गोमेन्द्र बिर्तामोडलमा २०७६ बैशाखदेखि स्मार्ट कक्षा
Published:
by .बिर्तामोड । दुई दशक लामो शैक्षिक इतिहास बोकेको गोमेन्द्र बिर्तामोडल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७६ देखि स्मार्ट क्लास प्रविधि लागू गर्ने तयारी गरेको छ ।
विद्यार्थीलाई अहिलेको विश्वले अवलम्बन गरेको शैक्षिक प्रणालीमा अब्बल र दक्ष बनाउँदै एउटा नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले स्मार्ट कक्षा सञ्चालन गर्न लागिएको विद्यालयका निर्देशक उत्तम खनालले जानकारी दिएका छन् ।
नयाँ प्रविधिबाट कक्षा सञ्चालन गर्दा पनि विद्यालयले कुनै अतिरिक्त शुल्क नलिने बरु पुरानै शुल्कमा गुणस्तरीय शिक्षा दिन प्रयत्न गर्ने सहनिर्देशक गीता ढकालले जानकारी दिइन् ।
‘नयाँ अवधारणासहित अघि बढ्ने भएता पनि कुनै पनि अतिरिक्त शुल्कको भार हामी अभिभावककलाई बोकाउने छैनौं’– विद्यालयका प्रिन्सिपल मनोज सिंहले भने ‘यो हाम्रो प्रतिवद्धता हो र हामी हाम्रो प्रतिवद्धतामा अडिग मात्र होइन अटल पनि छौं ।’
स्मार्ट शिक्षण सिकाईको आवश्यकता किन भन्ने प्रश्नमा निर्देशक खनालले यसका थुप्रै विशेषताहरुको बेलिविस्तार लगाए । उनले भने, ‘सिक्ने र सिकाउने दुवै विधिलाई अझ बढी प्रभावकारी बनाउन, सुन्दै–हेर्दै र पढ्दै सिकिने प्रविधिलाई आज विश्वले नै अनुमोदन गरेको हुँदा किताबी ज्ञानका अतिरिक्त व्यावहारिक तथा रचनात्मक ज्ञानको अभिबृद्धि गर्न यस्तो प्रविधि भित्राइएको हो ।’
शैक्षिक प्रणालीमा सिकाई विधि रोचक मात्र नभई मनोरञ्जनात्मक समेत हुनेहुँदा के कति कसरी सिकियो सिकिएन भन्ने मूल्याङ्ककन तत्काल गर्न सकिने भएकाले र अवसरले एकपटक मात्र ढोका ढक्ढक्याउँने भएकाले आफूहरुले नयाँ प्रविधिमा प्रवेश गरेको खनालको भनाई छ ।
गोमेन्द्र बिर्तामोडल स्कूलमा अंग्रेजी लेख्ने र बोल्ने कुराका साथै व्यक्तित्व विकासमा विशेष जोड दिने वातावरण बनाइएको सहनिर्देशक गीता ढकालले बताइन् । उनका अनुसार छात्र छात्रा दुवैका लागि आवासीय सुविधा, खेलकुदका लागि फराकिलो खेल मैदान र विद्यार्थीको रुची अनुसारको खेलकुद साथै अन्य क्रियाकलाप समेत सञ्चालन हुने वातावरण सो विद्यालयमा रहेको छ ।
Comments