सरकारको विषयमा यसरी पनि सोच्ने हो कि !
Published:
by .छोरी सरला भन्दै थिइन्, काठमाडौमा त होली आउनुभन्दा १५ दिन पहिलेदेखि नै केटीहरुलाई लुकेर र झुक्याएर लोला हान्ने गर्थे । कलेज जान कस्तो गाह्रो हुन्थ्यो । जे होस् अहिलेका केटीहरुले यस्तो असभ्यता भोग्नु परेको रहेनछ । २०७५ सालसम्मको होलीमा आइपुग्दा अपरिचितलाई झुक्याएर लोला हान्ने, जबरजस्ती रंग दल्ने कुरा पूरै नियन्त्रणमा आएको रहेछ ।
बितेका २५ वर्षमा अनगिन्ती यस्ता बन्द, हड्ताल भएका थिए । जहाँ साइकल, रिक्सा, एम्बुलेन्स, दमकल, शववाहन, प्रहरीका सवारीसम्मलाई अवरोध हुने गरेको थियो । औषधी पसल, होटलसमेत बन्द गर्ने गरिन्थ्यो । बेलुका गन्तव्यमा पुगिने आशामा सिमित खर्च लिएर हिँडेका मानिस बाटामा बिरामी, केटाकेटी, बुढाबुढी लिएर हप्तौं हप्तासम्म बिचल्लीमा परेको घटना धेरै पुरानो भएको छैन । १५ दिनको छुट्टी लिएर विदेशबाट आएकाले काठमाडौ बाहिर घरसम्म जान नपाएर त्यतैबाट फर्कनु परेको थियो । १० वर्षमा दर्जन सरकार बने, भत्किए । यो धेरै पुरानो कुरा होइन ।
पदासिन सफेद लुटेराहरुको दवदबा कतिसम्म थियो भनेर अख्तियारका तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्की, पप्पु कन्स्ट्रक्सनका मालिक ठेकेदार सांसद पप्पु यादव, अलिक अघिका कर फस्र्योट आयोगका पदाधिकारी र भर्खरै ओझेल परेका कतिपय वरिष्ठ न्यायाधिशलाई हेर्दा हुन्छ । लुट्न सक्नु, अकुत धन आर्जन गर्नु, पैसाको बलमा पद प्राप्त गर्नु, पदको सिंडी चढ्नु कतैबाट आलोचनाको विषय बन्दैनथ्यो । सयौं, हजारौ निरिहको लुटेर धन जम्मा गर्ने र केही अंश चन्दा, दान दिएर सम्मानित हुने कुरा सामाजिक संस्कार बनेको अवस्था अझै पुरानो भएको छैन । कसले कसरी कमायो, कहिल्यै कसैले नखोज्ने समाज हो हाम्रो ।
सेवा गर्नुपर्ने राजनीतिकर्मी धनका व्यापारी बन्ने, सिमित मुनाफामा चल्नुपर्ने व्यवसायी व्यपारी ठग बन्ने, राज्यको तलब सुविधा लिएर सेवा दिन बसेका कर्मचारी सेवाग्राहीलाई अकरमा पारेर पैसा धुत्ने, शासन प्रशासनको दैनिकी बनेको देशमा हामी सुधारमा चमत्कारको अपेक्षा गर्छौं । मानिसले सिक्ने समाजबाट हो, चलनबाट हो, अरुको कर्मको नक्कल गरेर सिक्ने हो । अझ भन्दा बढाले गरेको कामबाट हो । समाजले स्थापित गरेका मूल्य मान्यताबाट हो । श्रम गर्ने वर्गबाट श्रम नगर्ने वर्गमा रुपान्तरण हुन मरिहत्ते गर्ने समाजको चरित्र बनेको छ । दलाली गर्नु, कमिशन लिनु, विचौलिया बनेर आर्थिक आर्जन गर्नु, इमान्दार र सोझालाई ठगेर आर्थिक आर्जन गर्नु जिविका चलाउने र धन थुपार्ने आदर्श बनेको छ । समाजको ठूलो हिस्सालाई यो संस्कृतिले लपेटिसकेको छ ।
समाजको सबैभन्दा भरपर्दो मध्यम वर्गका युवाको प्लस टु पार गर्नुको उद्देश्य विकसित मुलुकमा सुकिलो दास बन्न जानेमा छ । सुकिलो दास बन्न नसक्नेहरु सामाजिक संस्कारलाई चुनौति दिन नसकेर सिमित आर्जनका लागि असिमित सपना बोकेर पसिना चुहाउन विदेशको बाटो रोजेका छन् । ती सबैको आशा र आलोचनाको केन्द्र बनेको छ सरकार । दुई तिहाईको स्थिर सरकार छ । यसले नगरे कसैले गर्दैन भन्ने जमात ठूलो छ । आशाको नजरले हेरेको छ । हतारो उसलाई पनि छ तर पर्खने धैर्यता गुमाएको छैन । छिचरो भएर बोल्दैन । जानेको छ तर जतासुकैका भित्तामा लेख्दैन ।
जसले सरकार बनाउन खासै योगदान गरेन, जसले सरकार र समाजको जटिलतालाई बुझ्दैन वा बुझेर पनि नबुझेको जस्तो गर्छ ती सबै भित्ते सञ्चारकर्मी भएका छन् । त्रिकालदर्शी भएका छन् । आफ्नो टाउकालाई उती दुखः दिँदैनन् । अरुले भित्तामा टाँसेको हेरेर, सारेर विचार बनाउँछन् । मन बनाउँछन् । ती सबै यो सरकारसँग सुधार र विकासमा चमत्कारको आशा गर्छन् । धेरैलाई लाग्छ, यो सरकार दुई तिहाईको सरकार हो । यसले जे चाह्यो त्यो तत्कालै गर्न सक्छ । गर्नु पर्छ । किन नगरेको ? सरकारलाई पनि कम हतारो छैन । केही गर्न खोजेको छ । गर्न खोज्दा अर्कोले भन्छ सरकारले दुई तिहाईको घमण्ड देखायो ।
संघियताको कार्यान्वयन कानूनको निर्माणदेखि शुरु गर्नुपर्ने सरकारको जिम्मेवारी । कर्मचारी समायोजनको चक्र । न नीति नियम, न बस्ने कुर्सी टेवल, न कार्यालयको ठेगाना, न कर्मचारी आपूm बाहेकका ७६० वटा थरिथरिका सरकारको अवस्था र असन्तुष्टि । यी सबैको चाङमा उभिएर, सबैलाई धेरथोर चित्त बुझाएर नियम कानून अनुरुप सुशासन कायम गर्नु र समृद्धिको खाका कोर्नु चानचुने कुरा होइन । सरकारले गरेर मात्रै पुग्दैन, हामी पनि सुध्रिनु पर्छ । हामी सुध्रिएर मात्रै हुँदैन, सरकार नै जिम्मेवार हुनुपर्छ ।
सरकार कमजोर भएको लामो समयमा हुर्केका धुर्तहरुको अराजक चेतले मुलुकको चप्पा चप्पालाई थिलथिलो पारेको छ । बलियो सरकारको पहिलो काम धुर्तको अराजकतालाई नियन्त्रण गर्नु हो, त्यो पनि कानून सम्मत । कानूनभन्दा बाहिरबाट नियन्त्रण गर्न खोज्दा फेरि सरकार नै अराजक बन्ने खतरा हुन्छ । त्यो कसैको रोजाई होइन र हुनु हुँदैन पनि । त्यसैले यहाँ चमत्कार गर्न सरकारलाई सजिलो छैन । तर सबैले सामाजिक भित्तामा आफ्नो पत्रकारितालाई सार्वजनिक गर्ने अवसर प्रविधिले जुराई दिएकाले ठिक र बेठिक छुट्याउन अरु केही समय लाग्ने भएको छ । पाकेको केरा र नानीको आची उस्तैउस्तै हो भन्ने चेतको पनि कमी छैन ।
पाथीभरामा भएको हेलिकप्टर दूर्घटनामा ज्यान गुमाएकाहरुलाई एकजना भित्ते पत्रकारले लेखेका थिएः जनताले सजाय दिन सकेका थिएनन् पाथीभरा देवीले सजाय दिइछन् । योभन्दा बुद्धिको दरिद्रता अरु के होला । तिनलाई पनि आफ्नो कुरा भित्तामा लेखेर सार्वजनिक गर्ने छुट छ । यी पात्र त प्रतिनिधि मात्र हुन् । यस्तो स्वभाव र चरित्रको जमात बोल्छ, चिच्याउँछ, कुर्लन्छ । धारेहात लगाएर सत्तोसराप गर्छ तर सकारात्मक कामको सिन्को भाँच्दैन । यस्तालाई पनि सरकारले चमत्कार गरिदिएको हेर्न मन छ । अझ भन्छन् सरकार किन चमत्कार गर्दैन ?
मुलुक राजनीतिक संक्रमणमा रहेको लामो समयमा हुर्केका धुर्तहरुको सफेद लुट समूहलाई कानूनको दायरामा ल्याएर सुशासनको विश्वास आम मानिसमा ल्याउनु सरकारको पहिलो काम हो । सरकारले सुशासनको पाइला चाल्दा अराजकमा रजाईं गर्न पल्केका सफेद लुटाहा पदाधिसहरुले पहिलो विरोध गर्ने गरेका छन् । ती गौंडा गौंडामा बसेर सरकारका प्रत्येक कदममा क्ष्येप्रास्त्र प्रयोग गर्छन् । तिनका कुरालाई पत्याएर भित्ते पत्रकार सरकारको आलोचना गर्छन् तर सरकारका सकारात्मक कामको चर्चा गर्दा आफू चर्चित नभइने डर तिनलाई छ । किनकि यहाँ गाली गरेर चर्चित हुने संस्कार जो बसेको छ । चर्चित हुने सजिलो बाटो तथ्यहीन नै सही, गालीको बोली बोल्नुपर्ने बाध्यता धेरैको बनेको छ । किनकी हामीमा नकारात्मक स्वादको बानी परेको छ ।
केही पनि भएको छैन भन्नेहरुले दुई वर्ष पहिलेको अवस्थालाई मात्रै हेरे पुग्छ । धेरै पर फर्कनु पर्दैन । केही वर्ष अगाडिको अवस्थाभन्दा प्रायः सबै शहरको फोहोर घटेको छ । उपत्यकाका शहरका सडकको अवस्थामा सुधार भएको सहजै देख्न सकिन्छ । त्यहाँ पहिला धेरै धुलो उड्थ्यो, अहिले कम भएको छ । अहिले उपत्यका बाहिरका शहरमा धुलो उड्ने क्रम बढेको छ । जब निर्माण कार्य सकिन्छ तब केही सहज हुन्छ नै । यो शुभ संकेत नै हो ।
जताततै लुट्न पल्केका पधासिनको राज र बोलवाला, उन्मुक्त र अट्टहास हाँसो हाँस्दै हिँड्नेहरुको लाममा कमी आएको छ । भन्सार लगायतको राजश्वमा हुने गरेको लुटमा कमी आएको छ । तर पनि महङ्गी बढ्न पाएको छैन । खर्चका शीर्षक मिलाएर देशको ढुकुटी लुट्ने चलनमा केही सुधारको संकेत देखिएको छ । अब कामै नगरी लुट्न पाइँदैन, लुट्नै छ भने पनि काम गरेको देखिनुपर्छ भन्ने मान्यता हुर्कंदै छ ।
सार्वजनिक यातायातमा केही सुधार भएको छ । रोकिएका निर्माण कार्यले गति लिन थालेका छन् । भुकम्प पीडितहरुको घर बन्ने र राहत पाउने कुराको गति बढेकै कारण यो अवधिमा धेरै घर बनेका छन् । धेरै स्कूल र सार्वजनिक सम्पदाको निर्माणले गति लिएको छ । वैदेशिक रोजगारीमा भएको ठगीका उजुरी अलि बढ्ता सुनिन थालेका छन् । सफेद ओहोदावाला लुटेराहरु अलिकति हच्केका छन् । विजुली, पानी, टेलिफोनको बिल तिर्न बस्नुपर्ने लामा लाइनहरु हटेका छन् वा छोटा भएका छन् । सेवाग्राही जनतालाई सधैं हेपेर बोल्ने सरकारी कर्मचारीको स्वर केही फेरिन थालेको छ ।
मन्त्री, उच्च ओहदाका कर्मचारीलाई सायद पहिलो पटक सोध्न थालिएको छ के तपाई आप्mनो काम ठिकसँग गर्दै हुनुहुन्छ ? सामाजिक र घरेलु हिंसाको उजुरी लिन हत्तपत्त नमान्ने प्रहरी उजुरी सुन्ने हुँदैछ । जनताको प्रत्यक्ष स्वास्थसँग सरोकार राख्ने खाद्य वस्तुमा भएको मिसावटमा सरकारले चियाउन थालेको अनुभूति हुन थालेको छ । यस्तै यस्तै धेरै क्षेत्रमा केही न केही हुँदैछ । यो चमत्कार होइन र चमत्कार हुँदैन पनि तर सुधारको केही संकेत त हो । सरकारले फेरि पनि कुनै महत्वको काम गरेको होइन । यति हो कि विगतका सरकारले यति पनि गर्ने जाँगर देखाएका थिएनन् । यतिचाहिँ पक्का हो । परिवर्तन चाहनेले आफ्ना आनीबानीमा पनि परिवर्तन गर्न सक्नुपर्छ । त्यो हामीले गर्नुपर्छ र सरकारले सरकारको काम गर्नुपर्छ ।
राजश्वमा माफिया, ठेक्का पट्टामा माफिया, उद्योगमा माफिया, जग्गामा माफिया, मेडिकलमा माफिया, स्वास्थमा माफिया, भन्सारमा माफिया, वैदेशिक रोजगारमा माफिया, माफियाको जालो नपुगेको र विचौलिया नभएको कुनै कार्यालय छैनन् । जताततै ठगहरुको विगविगी छ । यस्तोमा हामी पनि सुध्रिनु पर्छ र सरकार पनि । अहिले ठोकेर भन्न सकिन्छ, विगतका कुनै सरकारभन्दा यो सरकारले बढी आशा देखाएको छ । अर्को कुरा पनि ठोकैरै भन्न सकिन्छ, हामी पनि विगतमा भन्दा बढी नै जिम्मेवार हुन सिक्दैछौं । घरको फोहोर सडकमा फाल्न कम भएको छ । आफ्नो रमाइलोका लागि अरुलाई अनाहकमा दुखः दिने काम कम हुँदै गएको छ । त्यसैको परिणाम हो २०७५ मा मनाइएको होली, अरुलाई दुखः दिएर, झुक्याएर रंग दल्ने, लोला हान्नेजस्ता कर्म रोकिएको छ र समाजमा ठूलो परिवर्तन आएको छ ।
Comments