भद्रपुरलाई बालमैत्री नगरपालिका बनाउने कसरत
Published:
by .भद्रपुर । झापा सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा बालमैत्री क्रियाकलापले तीब्रता पाएका छन् । यसै आर्थिक वर्षभित्र भद्रपुरलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने तयारी गर्दै नगरभित्र बालमैत्री क्रियाकलापलाई तीब्रता दिइएको नगरप्रमुख जीवनकुमार श्रेष्ठको भनाई छ ।
बालमैत्री नगरपालिका घोषणा गर्नुअघि बालबालिका सम्बन्धी २७ वटा सूचक पूरा गर्नुपर्ने कार्यतालिका अनुसार बालबालिका लक्षित क्रियाकलाप गरिँदै आएको हो । नगरभित्र सबै वडा तथा शैक्षिक संस्थाहरुमा बाल क्लव र नगरपालिकामा नगरस्तरीय बाल सञ्जाल गठन भई ती सञ्जाल र क्लवमार्फत पनि बालबालिका सम्बन्धी क्रियाकलाप गरिँदै आएको छ ।
शिक्षा, स्वास्थ्य, सरसफाई, सामाजिक क्षेत्रका बालबालिकाको नैसर्गिक अधिकार सुनिश्चत हुने गरी सरोकारवालाहरु बीच छलफल–अन्तरक्रिया गरिँदै आएको छ । बालबालिकालाई प्रयोग गर्न नहुने क्षेत्रमा उनीहरुको प्रयोगलाई कडाइका साथ नियन्त्रण गरिने पनि नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
बालमैत्री स्थानीय शासनयुक्त बन्न आवश्यक सूचकका सम्बन्धमा जनप्रतिनिधि लगायत सरोकारवालाई बिहीबार नगरपालिकाको सभाहलमा अन्तरक्रियात्मक कार्यक्रम गरी जानकारी गराइएको छ । नगरप्रमुख श्रेष्ठको अध्यक्षतामा आयोजित अन्तरक्रियामा स्माइल नेपालका सहजकर्ता सुमन ढकालले बालमैत्री सूचकहरुका बारे सहजीकरण गरेका थिए ।
सो कार्यक्रममा नगर उपप्रमुख चन्द्रा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठलगायतले भद्रपुरलाई बालमैत्री नगर बनाउन सबै पक्ष जिम्मेवार ढंगले अघि बढ्नुपर्ने बताए । पार्टी प्रतिनिधिका रुपमा नेकपाका शिव राजभण्डारी र नेपाली कांग्रेसका ज्ञानु चौहानले सुझाव राखेका थिए ।
७० हजारभन्दा बढी जनसंख्या रहेको भद्रपुर नगरपालिकामा १८ वर्षमुनिका बालबालिकाको संख्या २१ हजार ६४३ रहेको जनाइएको छ ।
Comments