समृद्धिका लागि युवामाथि मेचीनगरमा बहस
Published:
by .धुलाबारी । के.आर. फाउण्डेसन झापाको आयोजनामा समृद्धिका लागि युवा विषयक एकदिने कार्यशाला झापाको धुलाबारीमा शुक्रबार सम्पन्न गरिएको छ ।
कार्यक्रमका सहजकर्ताहरुले अहिले जताततै समृद्धिको बहस चलिरहँदा सबैभन्दा पहिला समृद्धि के हो भनी बुझ्न जरुरी रहेको औंल्याएका थिए । जबसम्म हरेक व्यक्तिमा प्रश्न गर्ने क्षमताको विकास हुँदैन तबसम्म समृद्धिको कल्पना पनि गर्न नसकिने उनीहरुको तर्क थियो ।
बहसमा अग्रज पत्रकार केदार शर्माले देशले समृद्वि हासिल गर्न राजनीति राम्रो हुनुपर्ने भन्दै राजनीति राम्रो नभएका देशले समृद्वि हासिल गर्न नसक्ने औंल्याए । जसरी घरको सौन्दर्य झल्काउन आँगन, बलेंसी सफा राखिन्छ, त्यसरी नै देशलाई समृद्धशाली बनाउन हरेक देशका राजनीति क्षेत्र सफा हुनुपर्ने शर्माको तर्क छ ।
अर्का सहजकर्ता अब्दुस मियाँले उत्प्रेरणा वा ‘मोटिभेशन’ गराएका थिए । उनले यूवा जनशक्तिहरुले सफलता प्राप्त गर्न आफूभित्रको सुसुप्त शक्तिलाई जगाउनु पर्ने र नियमित अध्ययनलाइ जारी राख्नुपर्ने बताए । उनले नयाँपनको खोजी गर्ने हो भने अध्ययनशील बन्नुपर्नेमा जोड दिए ।
संसारमा अप्ठयारो बाटोमा यात्रा गर्नेले मात्र सफलता प्राप्त गरेको स्मरण गर्दे उनले जीवनमा कस्ता मानिसको संगत गरियो र कस्ता पुस्तक पढियो भन्ने कुराले व्यक्तिको सफलता निर्भर हुने धारणा राखे ।
सफलता सहज रुपमै सबैले प्राप्त गर्ने भए यसको महत्व नहुने भन्दैं मियाँले सफलता प्राप्त गर्न सबैले प्रयत्न गर्नुपर्नेमा जोड दिए । समाजलाई केही योगदान गर्ने सोच बनाउने हो भने पहिला आफू सक्षम हुनुपर्नेमा उनको भनाई थियो ।
कार्यशालाको उद्घाटन गर्दै मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले देश समृद्धितर्फ उन्मुख भएको र त्यसका लागि युवा जनशक्तिको सकारात्मक सोच र उर्जाको आवश्यकता रहेको औंल्याए ।
धुलाबारीस्थित अथिति सदनमा आयोजित कार्यक्रममा प्रमुख आचार्यले हरेक व्यक्ति, राजनीतिक दल तथा सरकारले सुखी नेपाली समृद्व नेपालको कल्पना गरिरहेको तर मोडल फरक फरक हुनसक्ने विचार राखे ।
कार्यक्रमका अर्का वक्ता नगर उपप्रमुख मिना पोखरेल उप्रेतीले यस्ता कार्यक्रमले हरेक युवा जनशक्तिलाई उर्जा मिलेको र आफूहरु समेत कार्यक्रमबाट प्रभावित भएको बताइन् । युवा जनशक्तिलाई बिचलन हुन नदिई लक्ष्य प्राप्तिका लागि यस किसिमका कार्यक्रम आवश्यक रहेको उनको भनाई थियो ।
कार्यक्रममा सहभागीकातर्फ बाट किण्डरजोए स्कूलकी फाउण्डर सपना प्रसाईले कार्यक्रमले सबैलाई उर्जा मिलेको प्रतिक्रिया दिइन् ।
फाउण्डेसनका अध्यक्ष सविता भेटवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गोपाल बस्नेतले गरेका थिए । कार्यक्रममा नगरभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता थियो ।
Comments