Sajhamanch Archive

अचानक बाग्लुङको ताराखोलामा किन पुगे प्रचण्ड ?

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ४ मा रहेको नेपाल माध्यमिक विद्यालय ताराको स्वर्ण महोत्सवको उदघाट्नका लागि नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार ताराखोला पुगेका छन् ।

ताराखोला यस्तो ठाउँ हो जहाँ युद्धको बेलामा सबै भन्दा धेरै माओवादी विद्रोहीहरू सहिद भएका थिए ।

ताराखोला तत्कालिन युद्दरत माओवादीको आधार इलाका मध्यको सबैभन्दा बलियो इलाका थियो।

कार्यक्रमको उद्घाटन गर्दै प्रचण्डले आफू लामो समय देखि ताराखोला आउन चाहेको तर व्यस्तताका कारण सदरमुकामबाटै फर्किनु परेको बताए।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता टुङ्गिएको बताएका छन्

बागलुङको ताराखोला गाउँ पालिकामा–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

आन्तारिक रुपमा पार्टी एकता टुंगि सकेको बताउँदै प्रचण्डले भने, ‘पार्टी एकीकरणको लागि अब कुनै कसुर बाँकी राख्दैनौँ ।’ देशमा समृद्धि नआए सम्म शहीदको सपना पूरा नहुने भन्दै अहिलेको सरकारले समृद्धिका लागि आवश्यक पर्ने सबै कानून निर्माण गरेको बताए ।

जनयुद्धमा तारा खोलाले खेलेको भूमिकाको स्मरण गर्दै नेपाल मावि ताराको उन्नतिका लागि आफूले सक्दो प्रयास गर्ने बताए ।

‘आजै पनि १२ बजे सम्म बालुवाटारमा छलफल भएको थियो, तपाईहरुलाई दिएको वचन, जनताको माया र मेरो मन भित्रको चाहानाले तपाईहरुको माझमा आउन पाएँ,’ प्रचण्डले थपे, ‘परिवर्तनलाई संस्थागत त गरियो तर जनताको जीवनमा खुसियाली ल्याउन बाँकी नै छ, त्यसको अभिवारा हामीले पुरा गर्नुछ।’

प्राविधिक विद्यालय स्थापनाको लागि स्थापनाकालको ५० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको स्वर्ण महोत्सवमा एक करोड उठाउने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक थमप्रसाद रोकाले बताए ।

‘पहिलो चरणमा हामीले कृषि जेटिएलाई प्रथामिकता दिएका छौं, त्यसपछि हामीले इन्जिनियरिङ पढाउने योजनामा छौं,’ रोकाले भने ।

‘स्वर्ण महोत्सव आयोजना गरेको एक वर्षभित्र प्राविधिक शिक्षालयमा हामी रुपान्तरित हुन्छौं,’ विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्रीले भने, ‘हामीले गाउँपालिकामा नै पहिलो पटक प्राविधिक विद्यालयका रुपमा नेपाल माविलाई बनाउने योजना बनाएर यो महोत्सवको आयोजना गरेका हौं ।’

खत्रीले अहिलेसम्म ८० लाख संकलन भएको जानकारी दिए । हेलिकप्टर मार्फत दिउँसो ताराखोला पुगेका प्रचण्डलाई बाजागाजा, विभिन्न झाँकीहरु, विद्यार्थी कवाज प्रदर्शन एवम् हजारौं जनताहरुले स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *