Sajhamanch Archive

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो

Published: in विविधा by .

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माणको बाटो खुलेको छ । केबलकार निर्माणका लागि प्रतिस्पर्धा गरिरहेका दुईमध्ये एक कम्पनीले हात झिकेपछि अब पाथीभरा माता देवी दर्शन केबलकार प्रालि काठमाडौंका लागि बाटो खुलेको हो ।

निर्माणका लागि पहिले प्रक्रिया अघि बढाएको त्रिवेणी केबलकार प्रालि भने हाल अलग भएको छ । त्रिवेणीका प्रबन्ध निर्देशक सुवास सांघाईले अब आफ्नो कम्पनी निर्माणका लागि नआउने बताए । उनले अदालतमा रहेको मुद्दा पनि आफ्नो तर्फबाट फिर्ता लिइसकेको जानकारी दिएका छन् । ‘कसले बनाउँछ, कहिले बनाउँछ थाहा छैन, हामीले मुद्दा फिर्ता लिएका छौं,’ सांघाईले भने, ‘मेरो कम्पनी अब निर्माणका लागि आउँदैन ।’

पाथीभराका कार्यकारी निर्देशक ईश्वरी पौडेलले दुई कम्पनीबीच कुरा मिलिसकेको बताए । ‘केही साथीहरू अहिले बाहिर हुनुहुन्छ, आएपछि हामी निर्माण सुरु गर्छौं,’ पौडेलले भने । प्रक्रियाको विषयलाइ लिएर यी दुई कम्पनी मुद्दा हालाहाल गरेर अदालतसम्म पुगेका थिए ।

गत जेठ १३ गते बसेको नगरपालिका कार्यपालिकाको बैठकले पाथीभरा माता देवी दर्शनलाई अनुमति दिने निर्णय गरेको हो । जेठ ६ गते रज्जुमार्ग (केबलकार) अनुमतिसम्बन्धी कार्यविधि पारित गरेको नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०४७ को दफा ११ (६) अनुसार अनुमति दिएको उल्लेख गरेको छ ।

नवीन पर्यटकीय सेवा कार्यहरूसम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन व्यवस्थापन, अनुगमन तथा नियमन गर्ने भनी दिएको अधिकार प्रयोग गरी अनुमति दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । त्यही कार्यविधिका आधारमा नगरपालिकाले १२ लाख रुपैयाँ राजस्व लिएको छ । मन्त्रिपरिषदको बैठकले पनि पाथीभरा माता कम्पनीलाई केबलकार निर्माण हुने क्षेत्रको सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

यिनै निर्णयका विरुद्ध त्रिवेणी अदालत गएको थियो । पाथीभरा माताले भालुगौंडेको पूर्वपट्टि फुङलिङ नगरपालिका ११ साविकको फावाखोला गाविसलाई मात्रै छोएर केबलकार निर्माणको प्रस्ताव गरेको छ । कम्पनीले गरेको प्रस्तावअनुसार यसमा ४.९७ हेक्टर क्षेत्रफल जमिन प्रयोग हुन्छ । यस्को लम्बाइ झन्डै साढे दुई किलोमिटर छ ।
‘कम्पनीको प्रस्तावअनुसार भालुगौंडेदेखि अहिलेको गोरेटो बाटोको पूर्वपट्टिको भाग भएर निर्माण हुनेछ । मन्दिरको गेट पुग्नुभन्दा दाहिनेपट्टिको भागलाइ अन्तिम विन्दु बनाइएको छ । हालको पैदलमार्गको थोरै भाग मात्रै अवतरण गर्ने स्थानमा भेटिन्छ ।

जिल्ला वन कार्यालय स्रोतका अनुसार केबलकार निर्माणका लागि ठूला ११२ वटा रूख काट्नुपर्ने हुन्छ । ठूला साना सबै गरी गरी जम्मा ६ हजार ६२१ वटा काट्नुपर्ने देखिएको छ । लाथ्रा मात्रै २ हजार ९९५ वटा काट्नुपर्छ । वन ऐनअनुसार ठूला रुख, लाथ्रा, पोल भनेर छुट्याउनुपर्छ । ऐनअनुसार ५ हेक्टरभन्दा कम क्षेत्रफलमा बन्ने संरचनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्नु पर्दैन आईईई गरे पुग्छ ।
आनन्द गौतम कान्तिपुरबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *