Sajhamanch Archive

निर्माण व्यवसायी संघ झापाद्वारा व्यवसायीहरु सम्मानित

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धिरेन्द्रकुमार दाहालले सरकारले निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।

निर्माण व्यवसायी महासंघको बैठकले ५ करोड रुपैयाँसम्मको ठेक्काको बोलपत्र अर्को जिल्लामा नदिने र त्यही जिल्लाकै निर्माण व्यवसायीहरुले मात्र ठेक्का हाल्न पाउने निर्णय गरिएको बताउँदै उक्त निर्णय कार्यान्वयन गर्न सम्पूर्ण निर्माण व्यवसायीलाई आग्रहसमेत गरे ।

निर्माण व्यवसायी संघ झापाले सोमबार बिर्तामोडमा प्रदेश १ का नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष दाहालले यस्तो बताएका हुन् । निर्माण व्यवसायी महासंघ प्रदेश १ को छैठौँ साधारणसभा फागुन ९ र १० बाट नयाँ कार्यसमिति चयन गरेको थियो ।

सरकारले नदीजन्य पदार्थ उत्खनन् गरेको अभियोग लगाएर निर्माण व्यवसायीलाई दुःख र लान्छना लगाउने गरेको भन्दै व्यवसायीहरुले गुनासोसमेत गरेका छन् ।

निर्माण सामग्रीको अभावमा झापामा भइरहेका निर्माण कार्यहरु अलपत्र अवस्थामा रहेको भन्दै सरकारले यथाशीघ्र निर्माण सामग्रीको व्यवस्थापन गरी निर्माण कार्यलाई निरन्तरता दिनुुपर्ने झापाका अध्यक्ष मिलन बस्नेतले बताए । पेशागत मर्यादा कायम राखेमात्र समाजले निर्माण व्यवसायीलाई सकारात्मक दृष्टिकोणले हेर्ने अध्यक्ष बस्नेतको भनाई छ ।

कार्यक्रममा निर्माण व्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष मोहनप्रसाद अधिकारी, निर्माण व्यवसायी संघ झापाका निवर्तमान अध्यक्ष दिपेन्द्र पोखरेललगायतले व्यवसायीका समस्या र चुनौतीका विषयमा आफ्ना भनाई राखेका थिए ।

सो अवसरमा निर्माण व्यवसायी संघ झापाले विभिन्न संस्थामा निर्वाचित भएका आफ्ना सदस्यहरुलाई सम्मान गरेको छ । नेपाल परिवार नियोजन संघ झापाको अध्यक्षमा निर्वाचित केदार गिरी, मेची उद्योग वाणिज्य संघको उपाध्यक्षमा निर्वाचित कल्याण खड्का, दमक खानेपानीमा निर्वाचित रोशन गौतमलाई संघले सम्मान गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *