Sajhamanch Archive

महाजन दाजुभाइले चितवनबासीलाई जगाए हृदयघातमा तत्कालको होसियारी

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

चितवन । हृदयघात सम्बन्धी चेतनामूलक कार्यक्रम ‘जीवन संजीवनी’ नारायणगढमा शुक्रबार सम्पन्न भएको छ । फोर्स मोटरको आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालि र नारायणी अञ्चलका लागि फोर्सको विक्रेता रेयान मोटर्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा भारतबाट आएका विशेषज्ञहरुले प्रस्तुति दिएका हुन् ।

आदिकवी भानुभक्त माद्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा मुम्बईबाट सगरमाथा आरोहण गर्ने उद्देश्यले नेपाल आएका साइकल यात्री दाजुभाई डा. हितेन्द्र महाजन र डा. महेन्द्र महाजनले हृदयघात भएर मुटुको चाल रोकिएका बिरामीलाई बचाउन तत्काल अपनाउन सकिने होसियारीका विषयमा जानकारी गराएका थिए ।

जीवन संजीवनी नामक अभियान अन्तरगत ती दुई डाक्टरहरुले व्यक्तिलाई हृदयघात भएपछि एम्बुलेन्स आइपुग्ने समयसम्म तत्काल गर्न सकिने उपचार विधिका बारेमा व्यवहारिक ज्ञान दिएका थिए । सो अवसरमा बोल्दै डा. हितेन्द्र महाजनले सामान्य होसियारी अपनाउन सके हृदयघात भएका बिरामीलाई बचाउन सक्ने सम्भावना तीन गुणाले बढ्ने सुझाव दिएका थिए ।

जो सुकै मानिस, जुनसुकै समयमा हृदयघातको सिकार हुनसक्ने भएकाले यस सम्बन्धी चेतनामुलक कार्यक्रममा फोर्स मोटर्सले साथदिएको आयाम इन्टरकन्टिनेन्टल प्रालिका निर्देशक निरन केसीले बताए । रेयान मोटर्सका सञ्चालक यज्ञप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा आदिकवि भानुभक्त माध्यमिक विद्यालयका प्रधानाध्यापक बिष्णु सापकोटासहित ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

भारतको समुन्द्री किनारदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको ‘सी टु स्काई एक्सपिडिसन’ साइकल यात्रामा निस्किएका महाजन दाजुभाइले भारत र नेपालका विभिन्न स्थानहरुमा हृदयघात पछिको प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिदै आएको जनाइएको छ । चितवन पछि काठमाडौँमा कार्यक्रम गरिने र त्यस पश्चात सगरमाथा आरोहणका लागि तयारीमा लाग्ने उनीहरुको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *