चैत २५ देखि बिर्तामोडमा युनिसेक्स ब्युटी सैलुन
Published:
by .बिर्तामोड । बिर्तामोडमा यही चैत २५ गतेदेखि अत्याधुनिक एवम् सुविधा सम्पन्न युनिसेक्स ब्युटी सैलुन सञ्चालनको तयारी गरिएको छ ।
व्यावसायी दम्पत्ती देवीभक्त श्रेष्ठ र उर्मिला बिमली श्रेष्ठले ब्युटी सैलुन सञ्चालनको तयारी पूरा गरेका हुन् । चैत २५ गते बिहान प्रसिद्ध हास्य कलाकार हरिवंश आचार्यले सैलुनको उद्घाटन गर्ने कार्यक्रम बनाइएको व्यावसायी देवीभक्त श्रेष्ठले जानकारी दिएका छन् ।
बिर्तामोडस्थित होटल हिकोला हेरिटेजसँगैको भवनमा सैलुनको संरचना निर्माण भइसकेकोले यही सोमबार हास्य कलाकार आचार्यको बाहुलीबाट उद्घाटनको तयारी गरिएको सञ्चालक श्रेष्ठको भनाई छ । महिला र पुरुष दुवैको कपाल काट्नेदेखि सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउने उद्देश्यका साथ ५० लाख रुपैयाँको लागतमा सुविधा सम्पन्न सैलुन तथा ब्युटीपार्लर सञ्चालन गर्न लागिएको जनाइएको छ ।
हेरिटेज युनिसेक्स ब्युटी सैलुन नाम दिई सञ्चालनको संघारमा रहेको उक्त व्यवसाय बिर्तामोडमा भएका अन्य सैलुनभन्दा उत्कृष्ट सेवा सुविधासहितको रहने व्यवसायी श्रेष्ठको दावी छ । महिला र पुरुष ग्राहकहरुले ढुक्कसँग कपाल काट्न, फेसियल गर्न, कपालमा रङ लगाउन तथा अनुहार चम्किलो बनाउन सक्ने बिर्तामोडको अत्याधुनिक सैलुन बनाएको सञ्चालक श्रेष्ठको भनाई छ ।
Comments