Sajhamanch Archive

धनकुटाको हिलेमा ३०० पर्यटक अलपत्र

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

धनकुटा । अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सवमा सहभागी हुन आएका करिब ३०० पर्यटक धनकुटाको हिलेमा अलपत्र परेका छन्।

ताप्लेजुङ, संखुवासभा र तेह्रथुमको संगमस्थल तीनजुरे मिल्के जलजलेको टीएमजेको गुफापोखरीमा चैत २२ गते देखि २७ गतेसम्म हुने भनिएको महोत्सवका लागि आएका पर्यटकलाई स्थानीय प्रशासनले धनकुटाको हिलेबाट कार्यक्रमस्थल जान नदिएपछि उनीहरू बिचमै अलपत्र परेका हुन्।

संखुवासभा र धनकुटा प्रशासनले शुक्रबारदेखि कार्यक्रम स्थल जान रोक लगाएको हो। शक्तिपीक म्युजिक प्रालिले संखुवासभाको मादी नगरपालिकामा रहेको चौकी डाँडामा चैत्र २२ गते देखि २७ गते सम्म आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सवमा लागुपदार्थको प्रयोग, अश्लील गतिविधि र खुला यौन व्यवहार हुने भन्दै स्थानीय प्रशासनले रोक लगाएको हो।

कार्यक्रमका लागि संखुवासभाको मादी नगरपालिका १ र २ नम्बर वडा कार्यालय तथा तेह्रथुमको मेन्छेयम गाउँपालिका ६ नम्बर कार्यालयसँग कार्यक्रमस्थलको पुर्व अनुमति लिएको शक्तिपीकका प्रमुख सुवास केसीले बताए।

पर्यटन प्रवर्धनका लागि आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सवको लागि नेपाल सरकारबाट पनि अनुमति लिइएको भए पनि प्रहरीले बाटो छेकेर जान नदिएको केसीले बताए।

कार्यक्रममा सहभागी हुन आएका पर्यटक हिलेमा अलपत्र परेपछि लगातारको वर्षाका कारण कतिपय बिरामी परेको र बस्ने सिमित होटलका कारण सयौ पर्यटक खाली भुईमा सुतेका छन। हिलेस्थित होराईजन होटलको सबै कोठा भरिएपनि भुइँमा पनि अटाइनअटाई पर्यटक बसेका छन।

अघिल्लो वर्ष पनि शक्तिपीक म्युजिक प्रालिले तीनजुरे मिल्के जलजले क्षेत्रमा यस्तै सांस्कृतिक महोत्सव गरेको थियो। यति ठूलो संख्यामा पर्यटक आएर रोकिएकोबारे धनकुटाका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले आफूलाई जानकारी नभएको बनाए।

यता धनकुटाका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले माथिको आदेशले रोक लगाएको बताए। यस्तै, संखुवासभाका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले अनैतिक, गैरकानुनी क्रियाकलाप, अश्लील कार्य हुने भन्ने पूर्व जानकारीका आधारमा रोक लगाएको जिकिर गरे।

फेस्टिबल आयोजना गर्न लागिएको स्थानका डेढ सय होमस्टे विदेशी पाहुनाका लागि एक महिना अघिदेखि नै रिजर्भ गरिएको मादी नगरपालिका ९ का वडाध्यक्ष पाशाङ शेर्पाले बताए।

प्रहरी प्रशासनले कार्यक्रम रोक लगाएकोबारे आयोजकले उच्च अदालत विराटनगर धनकुटा इजलासमा रिट दर्ता गरेको जनाएको छ।

थाहा खबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *