बिर्तामोडको मनकामना कलेजमा ६५ ले गरे रक्तदान
Published: (Updated: )
by .बिर्तामोड । यहाँस्थित मनकामना कलेजको सामाजिक कार्य विभाग तथा सामाजिक कार्यका लागि युवाले आज विश्व स्वास्थ्य दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान कार्यक्रमको उद्घाटन सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईले रक्तदान गरी गरेका हुन् । सिद्धार्थ व्लड बैंक, दमक शाखाको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३२ जना महिला तथा ३३ जना पुरुष गरी ६५ जनाले एक–एक पिन्ट रगत दान गरेका छन् ।
रक्तसञ्चार केन्द्रहरुमा रगतको बढ्दो अभावलाई सम्बोधन गर्न तथा बारा र पर्सामा भएको आँधीहुरीका घाइतेको उपचारमा रगत अभाव नहोस् भन्ने ध्येयले रक्तदान कार्यक्रम आयोजना गरेको सामाजिक कार्यका लागि युवाका अध्यक्ष सरोज खरेलले जानकारी दिएका छन् ।
‘विद्यार्थीहरुले यस्ता कार्यक्रमको आयोजना गर्नु आफैंमा गौरवको विषय हो, यस्तो कार्यक्रम हरेक वर्ष कम्तीमा तीनपटकसम्म आयोजना गर्नुपर्छ’ सिद्धार्थ ब्लड बैंक दमक शाखाका प्रमुख सिद्धार्थ दाहालले भनेका छन् ।
मनकामना कलेजमा यस्तो कार्यक्रमको आयोजना समाजिक कार्य विषय शुरु भएबाट मात्र भएको बताउँदै क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराइले आयोजक तथा प्रायोजकहरुलाई धन्यवाद दिए । आगामी दिनमा पनि यस्तो कार्यक्रम विद्यार्थीले आयोजना गरेमा कलेज प्रशासनले सहयोग गर्ने क्याम्पस प्रमुख भट्टराईले आश्वासन पनि दिएका छन् ।
मानकामना कलेज बिर्तामोडमा २०७४ सेसनबाट बिएसडब्ल्यूको पठनपाठन सुरु भएको हो । सो विभागले गतसाल मोरङकोे लेटाङमा ४ दिने क्याम्पिङ कार्यक्रम सञ्चालन गर्दै वृक्षारोपण, निःशुल्क स्वास्थ्य शिविर, सरसफाई तथा जनचेतनामूलक कार्यक्रमहरु सम्पन्न गरेको थियो ।
यसवर्ष पनि एक महिना पहिले धनकुटाको ६ नं. बुधबारेमा विभिन्न कार्यक्रम सहितको ६ दिने क्याम्पिङ पूरा गरिसकेको विभागीय प्रमुख सौरभ प्रसाईंको भनाई छ ।
धनकुटामा पनि वृक्षारोपण, सरसफाई तथा फोहोर संकलन गर्ने भाँडा वितरण, दृष्टि आई हस्पिटलको प्राविधिक सहयोगमा निःशुल्क आँखा परीक्षण तथा औषधी वितरण अभियान सञ्चालन गरको विभागीय प्रमुख प्रसाईंले जानकारी दिए ।
Comments