Sajhamanch Archive

सिम्रिकको सदस्य शिक्षा तालिमका बीच सम्मान र राहत प्रदान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । सिम्रिक साकोस झापाले आज बिर्तामोडमा नयाँ शेयर सदस्यहरुलाई स्वागतसहित सदस्य शिक्षा तालिम प्रदान गरेको छ ।

प्रदेशसभा सदस्य झलकसिंह दर्लामीको प्रमुख आतिथ्यमा आयोजित तालिममा उनले सहकारीका सदस्यलाई सहकारी व्यवसायको आधारभूत ज्ञान हुनैपर्ने आवश्यकता दर्शाएका छन् ।

नेपालको संविधानमा नै सहकारीलाई अर्थतन्त्रको एउटा आधारस्तम्भ स्वीकार गरिएकाले सहकारी ऐन, नीति एवम् विधि र मूल्य मान्यताहरु बुझ्न सबै सदस्यहरु उत्सुक बन्नुपर्ने सांसद दर्लामीले सुझाव दिए ।

बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले सहजीकरण गरेको सदस्य शिक्षा तालिम कार्यक्रममा सहकारी ऐन, नियमावली, बिर्तामोड नगरपालिकाले बनाएको ऐनसहित ‘कोपोमिस’ बारे छलफल गरेका थिए ।

सहकारी विभागले सबै सहकारी संघ–संस्थाहरुलाई आगामी आर्थिक वर्षदेखि अनिवार्य गरेको ‘कोपोमिस सफ्टवेयर’ले सदस्यहरुको दोहोरोपना नियन्त्रण हुने सहकारी अधिकृत दाहालको भनाई थियो ।

सदस्यहरुको सम्पूर्ण विवरण कोपोमिसमा समावेश गरिने भएकाले समयसीमा भित्रै ऋण नतिर्ने, एउटा संस्थामा ऋण कारोबार गरिरहेको व्यक्तिले पुनः अर्कोमा पनि ऋण लिन चाहेमा सफ्टवेयरबाटै देखिने भएकाले वित्तीय सुशासनमा सहयोग पुग्ने उनले जानकारी गराए ।

संस्थाका सचिव एवम् शिक्षा तथा तालिम समितिका संयोजक सुवास भट्टराईको अध्यक्षतामा तालिम विभाग प्रमुख विजय बस्नेतले कार्यक्रमको सञ्चालन गरेका थिए ।

सदस्य शिक्षा तालिमको औचित्यमाथि प्रकाश पार्दै संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले संस्थाको वित्तीय अवस्था एवम् सामाजिक सरोकारमा संस्थाको अग्रसरता बारे भनाई राखेका थिए ।

सिम्रिक साकोसमा अहिले २० हजारभन्दा बढी सदस्य रहेका, नौ करोड रुपैयाँ शेयर, ५१ करोड रुपैयाँ निक्षेप तथा ६२ करोड रुपैयाँभन्दा बढी सदस्यमाझ कर्जा लगानी गरिएको अध्यक्ष बस्नेतको भनाई थियो ।

संस्थाको शिक्षा तथा तालिम समितिका सदस्य गणेश सुवेदीले आमन्त्रित तथा सहभागीहरुलाई शब्दद्वारा स्वागत गरेको कार्यक्रममा संस्थाका १६ जना सदस्यहरुलाई राहत प्रदान गरिएको छ ।
तालिम संयोजक बस्नेतका अनुसार संस्थाका तीनजना शेयर सदस्यको निधन भएकाले उनीहरुले लिएको कर्जा मिनाहासहित मृत्यु बीमा सुविधा तिनका परिवारलाई प्रदान गरिएको छ ।

यसरी नै तीन जना सदस्यको खुट्टा भाँचिएकाले उपचार खर्च र १० जनालाई पेटको, एपेन्डीसाइट्स लगायत उपचार सहयोगका लागि राहत प्रदान गरिएको छ ।

नारी सञ्चारगृहलाई २५ हजार सहयोग

तालिम कार्यक्रमका बीच संस्थाले नारी सञ्चार गृह झापाले स्थापना गरेको ‘नारी प्रोत्साहन अक्षयकोष’का लागि २५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सांसद झलकसिंह दर्लामी, संस्थाका अध्यक्ष कमलबहादुर बस्नेत र शिक्षा तथा तालिम समितिका संयोजक सुवास भट्टराईले संयुक्तरुपमा गृहकी अध्यक्ष अम्बिका भण्डारीलाई नगद हस्तान्तरण गरेका हुन् ।

नारी सञ्चार गृहले राखेको उद्देश्य र लक्ष्य प्राप्तिका लागि सहकारी संस्थाले आर्थिक सहयोग प्रदान गरेकोमा संस्थाकी अध्यक्ष भण्डारीले आभारसहित धन्यवाद व्यक्त गरेकी थिइन् ।

त्यसैगरी, संस्थाले आफ्नो स्थापना दिवसमा आयोजना गरेको रक्तदान कार्यक्रममा उल्लेखनीय योगदान गर्ने आँगन एफएमका स्टेशन म्यानेजर रञ्जित प्रसाई र ओमप्रकाश लुइँटेललाई जनही ७ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *