Sajhamanch Archive

भाजपाले ल्यायो चुनावी घोषणापत्र, पहिलो प्राथमिकतामा राष्ट्रवाद

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

नयाँ दिल्ली । छिमेकी भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टी भाजपाले सोमबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

घोषणापत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणापत्र तीनवटा कुरामा आधारित रहेको जनाए । राष्ट्रवाद, दर्शन र सुशासन मूलमन्त्र भएको उनको भनाइ थियो ।

उनले आफ्नो सरकारले अलग्गै जलशक्ति मन्त्रालय बनाउने समेत जनाए । उक्त मन्त्रालय माछा मार्नेहरुलाई सशक्त पार्ने काममा क्रियाशील हुने उनले जानकारी दिए ।

सो पार्टीले घोषणापत्रलाई संकल्प प्रस्तावको नाम दिएको छ । भाजपाका अध्यक्ष अमित शाहको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्ट्रवाद आफ्नो सरकारको प्राथमिकतामा रहने जनाइएको छ ।

सो अवसरमा बोल्दै गृहमन्त्री राजनाथ सिंहले राष्ट्रिय सुरक्षाको विषयमा कुनैपनि सम्झौता नहुने बताए । उनले आतंकवाद र उग्रवादको विरुद्धमा शून्य सहनशीलताको नीति लिइने जनाउँदै आतंकवादलाई नियन्त्रण गर्नका लागि सुरक्षा बललाई सशक्त पारिने समेत जनाएका छन् ।

सुरक्षाबललाई आधुनिक हतियारले सुसज्जित पारिने जनाउँदै पूर्वोत्तर भारतमा अवैध घुसपैठ रोक्नको लागि प्रभावकारी कदम चालिने समेत सो अवसरमा बताइएको थियो ।

घोषणापत्रमा देशका सबै किसानका लागि प्रधानमन्त्री किसान सम्मान निधि योजना शुरु गरिने समेत घोषणापत्रमा उल्लेख छ । कृषि क्षेत्रमा उत्पादन वृद्धिका लागि २५ लाख करोड रुपैयाँ लगानी गर्ने घोषणापत्रमा उल्लेख छ ।

सन् २०२२ सालसम्ममा रेलमार्गलाई ब्रोडगेजमा परिवर्तन गरिने समेत जनाइएको छ ।

भाजपाको चुनावी घोषणापत्रमा भारत २०२५ साल सम्ममा ५ लाख करोड डलरको अर्थव्यवस्था हुने र २०३२ सम्ममा १० लाख करोड डलर बनाइने समेत जनाइएको छ ।

देशभरीमा ७५ वटा मेडिकल र इन्जिनियरिङ कलेज खोलिने, १७५ गिगावाट नवीकरणीय उर्जाको लक्ष हासिल गरिने योजना भाजपाको छ ।
बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *