Sajhamanch Archive

नेपालमै बनाउन थालियो नारायणीमा चल्ने ‘पानीजहाज’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

चितवन । नारायणी र कोशीमा पानीजहाज चलाउने भन्दै पानीजहाज कार्यालयसमेत स्थापना गरेर सरकारले अध्ययन अघि बढाइरहँदा नेपाली युवाको समूहले नारायणीमा चलाउने गरी नेपालकै ठूलो क्षमताको ‘मोटरबोट’ बनाउन थालेको छ ।

उनीहरुले यसलाई सानो आकारको ‘पानी जहाज’ भनेका छन् ।

भरतपुर महानगरपालिका वडा नः १६ काब्रेघाटको खोल्सामा गुपचुप रुपमा यसको निर्माण भइरहेको छ । वरपर टिनले बारेर भित्र मजदुरहरुले काम गरिरहेका छन् । कसैलाई पनि भित्र पस्न अनुमति दिइएको छैन ।

थाहा पाउनेहरु टाढैबाट हेरेर फर्किने गरेका छन् । भारतको केरलाबाट ल्याएका प्राविधिकले दैनिकजसो काम गरिरहेका छन् । ‘मिनी पानीजहाज’को माथिल्लो भागमा मानिसहरु बस्ने मिल्ने गरी सिटहरु तयार हुँदैछ ।

राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले निर्माण गरिरहेको यो ठूलो मोटरबोटमा तीनसय जना यात्रुले यात्रा गर्न सक्नेछन् । चालक दल १५ जना हुने छन् ।

चितवनका रामचन्द्र कँडेलसहितको ५र६ जना युवाहरुको समूहले निर्माण गरिरहेको यो मोटरबोटको करिब २५ करोडको लगानीमा तयार हुनेछ ।

डेढ वर्षदेखि यो समूह यसको निर्माणको तयारीमा निरन्तर लागिरहेको थियो । अहिले फलामको ‘स्ट्रक्चर’ बनाउने काम भइरहेको छ । केही दिनमा नै नारायणी नदीको पानीमा राखेर थप संरचना बनाउने र त्यसको ‘वेट ब्यालेन्स’ हेर्ने काम हुनेछ ।

ज्ञानेश्वर सामुदायिक वन क्षेत्रमा निर्माण भइरहेको मिनी मोटरबोटलाई वैशाखबाट नै सञ्चालन गर्ने योजना थियो । तर काममा केही ढिलाइ भएको छ ।

आगामी जेठको पहिलो हप्ताभित्र नारायणी नदीमा परीक्षणका रूपमा मिनी पानीजहाज चलाउने तयारी गरिएको जानकारी कम्पनी सम्बद्ध स्रोतले दिएको छ ।

यो ‘पानीजहाज’ दुई तले हुनेछ । माथिल्लो तलामा यात्रुहरु रहनेछन् । त्यसमा बसेर वरपरको दृश्य हेर्न सकिने छ । प्रति व्यक्ति यात्राको तीन सय रुपैयाँ लिने योजना छ ।

मोटरबोट चलाउनु अघि हरेक दिन बिहान सानो बोटले नदीको अवस्थाको जाँच गर्नेछ । यसलाई चलाउन पाँच मिटर गहिराईमा पानी भए पुग्छ ।

वर्षमा २७० दिन चलाउने र वर्षाको समयमा बन्द गर्ने योजना छ । यसलाई राख्नको लागि पानीको च्यानल काटेर पार्किङ बनाइने छ ।

प्रारम्भमा देवघाटभन्दा दुईकिलोमिटर माथिसम्म लैजाने सम्भाव्यता अध्ययन गरिँदैछ । पछि मुग्लिन र तल त्रिवेणीधामसम्म पनि लैजानेबारे थप अध्ययन गरिने जनाइएको छ ।

प्रधानमन्त्री केपी ओलीलाई ल्याएर यसको उद्घाटन गर्ने कम्पनीको योजना छ । एकैपटक सरप्राइज दिने भन्दै निर्माणका बारेमा निर्माण कम्पनीले जानकारी दिन आनाकानी गर्दै आएको छ ।

युवाहरुको यो कामको सहजीकरण नेकपा नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले गरिरहेका छन् । उनकै अवधारणामा यसको निर्माण थालिएको हो ।

पाण्डेले यसको सञ्चालनपछि चितवन आउने पर्यटकहरुको बसाई लम्ब्याउन थप टेवा पुग्ने विश्वास व्यक्त गरे । यो मोटरबोट निर्माणमा प्रदेश नम्बर तीन सरकारले पनि एक करोड रकम सहयोग गर्ने वचन दिएको छ ।

केहीदिनमा नै मुख्यमन्त्री डोरमणि पौडेलसमेत आएर निरीक्षण गर्ने कार्यक्रम छ । नेकपा आबद्ध नेताहरु आएर निर्माण भइरहेको मिनी पानीजहाजको अवलोकन भ्रमण गरिरहेका छन् ।

‘चीनको थ्री गर्जेजमा मोटरवोट चलाएको तरिकाको नक्कल गरी नारायणीमा पनि चलाउने तयारी हो,’ नेता सुरेन्द्र पाण्डेले भने ।

यो युवाको समूहले ज्ञानेश्वर सामुदायिक वनकै जग्गामा ‘सि’ रिर्सोट चलाउने योजना पनि बनाएको छ । रिर्सोट भने १२ महिना नै चल्ने छ ।

संस्थाले सामुदायिक वनसँग २० वर्षका लागि जग्गा भाडामा लिएको जनाएको छ । सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले डेढ बिगाहा जग्गा वार्षिक तीन लाख पचाँस हजार भाडा लिने गरी लिजमा दिएको जानकारी दिए ।

‘सामुदायिक वनले काठ दाउरा मात्रै बेचेर कहिल्यै उभो लाग्दैन’, अध्यक्ष अधिकारीले भने, ‘नेपाली युवाहरुले नै केही गर्छु भनेर आएपछि सि रिसोर्ट’ चलाउन दिने निर्णय भएको हो ।’

नीजि क्षेत्रका लगानीकर्तालाई उत्साही बनाउन वनले सम्झौता गरेको अध्यक्ष अधिकारीले बताए ।

पिकनिक खाने स्थानमा रुपमा कहलिएको ज्ञानेश्वर क्षेत्रमा अर्को एक पहिचान पनि थपिएकोमा खुसी लागेको उनको भनाइ छ । ठूलो आकारको मोटरबोट सञ्चालनपछि यहाँका स्थानीयलाई रोजगारीसँगैं आर्य आर्जनमा पनि टेवा पुग्ने उनको विश्वास छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *