Sajhamanch Archive

सिंगापुरलाई नेपालले २१७ रनले हरायो

Published: in खेलकुद, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । कप्तान रोहित कुमार पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले आईसीसी यू–१९ एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा सिगांपुरविरुद्ध २ सय १७ रनको जित निकालेको छ ।

२ सय ८३ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ ओभरमा ६५ रनमा अलआउट भएपछि नेपालले २ सय १७ रनको सहज जित निकालेको हो ।

नेपालको जितमा कप्तान रोहित कुमार पोडेलले अर्धशतकीय पारी खेले । शतक बनाउन ५ रनबाट चुकेका रोहितले ७ चौका र १ छक्का प्रहार गरे । पवन सराफसँग उत्कृष्ट साझेदारी गरेका रोहितले ९५ रन बनाए ।

पवन सराफले ४७ रन बनाउँदा रासिद खानले ४८ रनको योगदान दिए । अर्थब गुनेको बलमा पर्नब सुदर्शन मार्फत् क्याच हुनहुअघि पवनले ४ चौका र २ छक्का प्रहार गरेका थिए ।

रासिद खानले ४ चौका र २ छक्काको मद्दतमा ४८ रन बनाए । कमलसिंह ऐरीले ३१ तथा भिम सार्कीले २६ रन बनाए । सन्दीप जोरा, सूर्य तामाङ र सागर ढकालले रन जोड्न सकेनन् । ओपनर रित गौतम १ रनमा पभेलियन फर्किंदा आसिफ शेख ८ रनमा आउट भएका थिए ।

सिंगापुरका अर्थब गुनेले ४ विकेट लिँदा राहुल शर्माले २, भिनित मेहताले २ तथा पर्मेश सिंहले १ विकेट लिएका थिए ।

नेपालको कसिलो बलिङमा सिंगापुरका ४ खेलाडीले खाता नै खोल्न सकेनन् भने ४ खेलाडीले गतिलो रन जोडेनन् । सिंगापुरलाई सस्तैमा समेट्न नेपालका कुसल मल्ल, सूर्य तामाङ र पवन सराफले समान २–२ विकेट लिँदा रासिद खानले १ विकेट लिए ।

आठौं पटक विश्वकप खेल्ने लक्ष्यसहित मलेसिया पुगेको नेपालले दोस्रो खेल भोलि शनिबार यूएईसँग खेल्नेछ । वैशाख २ गते घरेलु टोली मलेसियासँग खेल्ने नेपालले वैशाख ३ गते ओमान र अन्तिम खेल कुवेतसँग खेल्नेछ ।

एशिया छनोटमा ६ राष्ट्र सहभागि छन् । शीर्ष स्थानमा रहने टोली २०२० मा दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि छनोट हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *