Sajhamanch Archive

राप्तीमा छाडियो १०० गोही

Published: in राष्ट्रिय समाचार, समाज by .

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ। यससँगै हालसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७८५ पुगेको छ। विगत १६ वर्षदेखि सो प्रजनन केन्द्र हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार पटक–पटक गरी माघयता ती गोही कसरा नजिकैबाट राप्ती नदीमा छाडिएको हो।

अन्दाजी पाँच वर्ष उमेरका गोही नदीमा छाडिएको उनले बताए। प्रजनन केन्द्रमा हाल ४०० हाराहारीमा गोही रहेका छन्। खड्काका अनुसार यसै वर्षका बच्चादेखि ४० वर्ष उमेरसम्मका गोही प्रजनन केन्द्रमा रहेका छन्। सोही प्रजनन केन्द्रमा हुर्काएर हालसम्म विभिन्न नदीमा एक हजार ४६५ गोहीलाई छाडिएको छ।

निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० गोही छाडिसकिएको छ। नदीमा गोही छाड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन। पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन्।

सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो। ठूलो सङ्ख्यामा हुर्काएका छाडिने भए पनि नदीमा सङ्ख्या विस्तार भने हुनसकेको छैन। नेपालका नदीहरूमा छाडिएका गोही पानीसँग भारत पुग्ने गरेका छन्। गण्डक ब्यारेजका कारण गोही भारततर्फ जान सक्छन् भने फर्किन सक्दैनन्।

जसका कारण नेपालमा हुर्काएर नदीमा छाडेका गोही भारत पुग्ने गरेका हुन्। नदीहरू प्रदूषण बन्दै जाँदा पनि सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ। हरेक वर्ष गोही भएका नदी किनारबाट अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *