Sajhamanch Archive

मेचीनगर गोल्डकप २०७६ः १० टिम सहभागी, विजयीले १० लाख पाउने 

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, by .

मेचीनगर । यही वैशाख १२ गतेदेखि हुने मेची नेत्रालय मेचीनगर गोल्डकपको चौथो संस्करण सम्पन्न गर्न मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले आग्रह गरेका छन् । गोल्डकपको संरक्षकमा मेचीनगर नगरपालिका रहेको छ ।

झापाको मेचीनगरमा आज आयोजक संस्था काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले प्रतियोगिताको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख आचार्यले यस्तो आग्रह गरेका हुन् । उनले सो प्रतियोगितालाई नगरकै गहनाका रुपमा लिएर सफलतापूर्वक सम्पन्न गर्न उद्योगी, व्यवसायी, खेलप्रेमीलगायत सम्पूर्ण नगरबासीलाई आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका हुन् । आगामी दिनमा पनि नगरपालिकाले सो प्रतियोगितालाई निरन्तरता दिने प्रमुख आचार्यको प्रतिबद्धता छ ।

पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष मिनबहादुर बस्नेतले प्रतियोगिता तयारीको ८५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । तीनदेखि चार हजार दर्शक राम्ररी बसेर खेल हेर्न सक्ने प्याराफिट निर्माण, नगरका विभिन्न भागमा स्वागतद्वार निर्माण, मैदानको उचित मर्मत सम्भारका काम सम्पन्न भएको अध्यक्ष बस्नेतले बताए ।

वैशाख २१ गते सम्पन्न हुने प्रतियोगितामा क्यामरुनको दाउफिन्स एफसी, पारो एफसी भुटान, रुस्लान थ्रीस्टार क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, सिएमजी संकटा क्लब काठमाडौं, च्यासल युथ क्लब काठमाडौं, मेची नेत्रालय काँकरभिट्टा एफसी झापा, धरान फुटबल क्लब सुनसरी, माइभ्याली फुटबल क्लब इलाम गरी १० वटा टिमले सहभागिता जनाउने खेलाडी व्यवस्थापन समितिका संयोजक कर्णबहादुर थापा मगरले बताए ।

प्रतियोगिताको आर्थिक समिति संयोजक गंगालाल गुरुङले तेस्रो संस्करणसम्म आइपुग्दा दाताहरुले बोलेको रकम नदिँदा विगतका प्रतियोगिता घाटामा गएको र आयोजकले आर्थिक व्ययभार व्यहोर्नुपरेको बताएका छन् । चौथो संस्करण सम्पन्न गर्न ८० देखि ८५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताए ।

प्रतियोगिताको विजयी टिमले नगद १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उनका अनुसार वेष्ट फर्वार्ड, मिडफिल्ड, डिफेन्स, गोलकिपर, कोच र राइजिङ प्लेयरले जनही २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले नगद ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

मुख्य प्रायोजक मेची नेत्रालयका प्रमुख डाक्टर शरदचन्द्रप्रकाश राईले अस्पतालले हरेक युवालाई खेलको माध्यमबाट अघि बढाउन लगानी गरेको बताए । झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेतका अनुसार प्रतियोगिताभर प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघको रहने छ ।

तालिका अनुसार उद्घाटन खेल आयोजक आयोजक मेची नेत्रालय काँकरभिट्टा एफसी झापा र क्यामरुनको दाउफिन्स एफसीबीच हुने खेलाडी व्यवस्थापन समितिका संयोजक कर्णबहादुर थापा मगरले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *