Sajhamanch Archive

असम्भवलाई सम्भव बनाउन सक्छौँ, देशलाई विकसित गर्न सक्छौँ : प्रधानमन्त्री ओली

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास नेपाल आफैले गर्न सक्ने बताएका छन।

उनले त्यसका लागि साहस र धैर्यताको खाँचो रहेको धारणा राखे। मंगलबार प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त धारणा राखेका हुन।

उनले भने, हामीले पासाङल्हामुबाट प्रेरणा र हौसला लिनुपर्छ, असम्भव भन्ने चिज केही छैन।

सम्भवलाई सम्भव बनाउन सक्दछौँ, देशलाई विकसित गर्न सक्छौँ। प्रधानमन्त्रीले थपे, हामी राष्ट्र निर्माणको राष्ट्रिय अभियानमा जुटिरहेका छौँ, यस्तो बेलामा साहस र धैर्यतासँगै आत्मविश्वासको पनि आवश्यकता छ, त्यही आत्मविश्वासका साथ अगाडि बढेर देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सक्दछौँ। उनले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्नसके देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताए।

प्रधानमन्त्री ओलीले पासाङल्हामु नेपाली महिलाको लागि प्रेरणा र साहसको प्रतीक हो भन्दै नेपाली महिला पनि कम छैनन्, सगरमाथाको शिखरमा पाइला टेक्न सक्छन् भन्ने दृष्टिान्त पहिलो पल्ट नेपाली महिलाको तर्फबाट पासाङल्हामुले पुष्टि गरेको बताए।

प्रधानमन्त्रीले यसपटक सगरमाथाको उचाइ मापनका लागि काम भइरहेकाले वास्तविक उचाइ आउने पनि बताए।

उनले सगरमाथाको उचाइका बारेमा रहेका भ्रम अन्त्य हुने दाबी गरे। उनले भने, सगरमाथाको उचाइका सम्बन्धमा विभिन्न भिन्नता देखा परेका छन्। तीनलाई कुनै विवाद नहुने गरी सोको टुङ्गो लगाइनेछ। नेपाल र चीन दुवैतर्फबाट सगरमाथाको वास्तविक उचाइ पत्ता लगाइनेछ।

राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी पर्वतारोहण इतिहासमा प्रथम नेपाली महिलाको कीर्तिमान कायम गर्न सफल भएकी थिइन।

उनले विसं २०५० वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन। सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकी पासाङल्हामुको आरोहण सकेर फर्कने क्रममा मृत्यु भएको थियो।

सगरमाथाको सफल आरोहण सन् १९५३ मे २९ मा नेपाली नागरिक तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले गरेका थिए। उक्त आरोहणसँगै नेपालमा व्यावसायिक रूपमा हिमाल आरोहण शुरु भएको थियो।

थाहा खबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *