Sajhamanch Archive

गण्डकी प्रदेशमा नौ महिनामै आठ करोडका पुस्तक बिक्री

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by .

काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्र पोखराले चालू आर्थिक वर्षमा आठ करोडको हारहारीमा पुस्तक बिक्री वितरण गर्न सफल भएको छ। चालू आर्थिक वर्ष अर्थात साउन यता नौ महिनाको अवधिमा गण्डकी प्रदेशअन्तर्गतका १० जिल्लाका सरकारी विद्यालयमा सात करोड ७९ लाख ८८ हजार ८५२ मूल्य बराबर पुस्तक बिक्री गरेको हो।

जनक शिक्षा सामाग्री केन्द्र पोखराका लेखापाल शिवविलाश पौडेलले भने, करिव आठ करोडको मूल्यमा २० लाख ७२ हजार ७५० थान पुस्तक बिक्री भएका छन्।ु उनका अनुसार गण्डकी प्रदेशका मनाङ र मुस्ताङ जिल्लामा हरेक वर्ष फागुन १ गतेदेखि नयाँ शैक्षिक सुरु हुने गर्दछ। उनले ती दुई जिल्लाका लागि आवश्यक पुस्तक गत माघ महिनामै उपलब्ध गराइएको बताए। ती दुई जिल्लासँगै गण्डकी प्रदेशका बाग्लुङ, पर्वत, म्याग्दी, लमजुङ, गोरखा, स्याङ्जा, तनहुँ, कास्कीलगायत जिल्लाका १६१ विद्यालयमा गत माघ महिनामै पुस्तक उपलब्ध गराइएको सो कार्यालयले जनाएको छ।

कार्यालयकाअनुसार प्रत्येक वर्ष पुस्तक खरीद गर्ने विद्यालयलाई नवीकरण गर्नुपर्ने हुन्छ। नवीकरण नगरिएका विद्यालयलाई पुस्तक उपलब्ध गराउन नमिल्ने कार्यालयले जानकारी दिएको छ। उक्त कार्यालयमा पर्याप्त मात्रामा पुस्तक भएको, पुस्तकका लागि बजेट पनि समयमै उपलब्ध भएको हुँदा विद्यालयले माग गरेको आधारमा पुस्तक उपलब्ध गराउँदै आइरहेको लेखापाल पौडेलले बताए। मकवानपुर जिल्लामा भने जनक शिक्षा सामाग्री केन्द्रको अन्य कार्यालयबाट पुस्तक आपूर्ति हुन्छ।

आधिकारीक रुपमा कक्षा ५ देखि कक्षा १० सम्मको पुस्तक बिक्री वितरण गर्नुपर्ने भए पनि यस कार्यालयबाट कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यममा पढाई हुने सरकारी विद्यालयका लागि आवश्यक पुस्तक समेत बिक्री वितरण भइरहेको जनक शिक्षा सामाग्री केन्द्र पोखरा कार्यालयले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *