Sajhamanch Archive

एनएमसी चारआली कार्यालयको अत्याधुनिक भवन शिलान्यास

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

रजत वर्ष स्मारिका विमोचन

चारआली । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाले चारआली कार्यालय भवन निर्माणको लागि आज शिलान्यास गरेको छ ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रममुख मीना पोखरेल उप्रेतीसहित एनएमसीका सञ्चालक एवम् सहकारी संघका अगुवाहरुले भूमिपूजन गरी भवनको शिलान्यास गरेका हुन् ।

मेचीनगर नगरपालिका १३ स्थित चारआलीमा रहेको एनएमसीको शाखा कार्यालय भवन अत्याधुनिक, लिफ्टसहितको चारतले सुविधासम्पन्न बनाउने गरी शिलान्यास गरिएको भवन निर्माण समितिका संयोजक तथा संस्थाका सञ्चालक माधवचन्द्र प्याकुरेलले बताएका छन् ।

कार्यक्रमको अध्यक्षसमेत रहेका प्याकुरेलले २०७७ सालको असारभित्रमा भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित अनुमानित लागत २ करोेड ९१ लाख रुपैयाँ विनियोजन रहेको जानकारी दिए ।

शिलान्याास समारोहमा बोल्दै नगरप्रमुख आचार्यले एनएमसीले अहिले जसरी वित्तीय कारोबार, कृषि तथा खेलकुदका क्षेत्रमा सक्रियतापूर्वक काम गर्दै आएको छ त्यसरी नै अब गुणस्तरीय शिक्षाका लागि विद्यालय सञ्चालनमा पनि लाग्नु पर्ने आवश्यकता दर्शाए ।

अस्वस्थ प्रतिस्पर्धाले जताभावीरुपममा विद्यालय सञ्चालन गर्ने क्रम बढेकोले बालबालिकाको भविष्यमा नकरात्मक असर पार्ने सम्भावना बढ्दै गएकाले सहकारी संस्थाहरुले गुणस्तरीय शिक्षाका लागि पहल गर्नुपर्नेमा नगरप्रमुख आचार्यको जोड थियो ।

सहकारीले उत्पादन गरेका वस्तुहरुको बजारीकरण गर्न स्थानीय सरकारका हैसियतले नगरपालिका लाग्ने बताउँदैं नगरप्रमुख आचार्यले सहकारीलाई उत्पादनशील क्षेत्रमा लागानी गर्नसमेत आग्रह गरे ।

सो समारोहमा नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले अहिले जताततै विषादीको प्रयोग बढेको र यसले मानव शरीरमा नकात्मक असर परेकोले सहकारी संस्थाहरु अग्र्यानिक खेतीतर्फ लाग्नुपर्ने बताइन् । यसका लागि नगरपालिकाले गर्ने जस्तोसुकै सहयोग गर्न तत्पर रहेको उनको भनाई छ ।

हालै सम्पन्न नगरसभाले स्थानीय सहकारी ऐन पारित गरिसकेकाले अब नगरक्षेत्रका सहकारीलाई प्रवद्र्धन एवम् नियमन गर्न आफूहरु क्रियाशील बन्ने बताउँदै उपप्रमुख पोखरेलले सहकारी अभियानको अग्रणी एनएमसीले यसमा साथ दिनुपर्ने आवश्यकता सुनाइन् ।


सोही कार्यक्रममा संस्थाले रजत वर्ष पार गरेको अवसरमा प्रकाशित स्मारिका पनि विमोचन गरियो । नगरप्रमुख आचार्य र उपप्रमुख पोखरेलले स्मारिकाको विमोचन गरेका हुन् ।

विमोचित स्मारिकाबारे समीक्षात्मक टिप्पणी गर्दै झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले प्रस्तुत सामग्री सहकारी अभियानका लागि रिफरेन्स बुक हुने अपेक्षा सुनाए ।

तत्कालिन डिभिजन सहकारी कार्यालय भद्रपुरका अधिकृतसमेत रहेका पोखरेलले स्मारिकाले नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको विगत र वर्तमानको साङ्गोपाङ्गो चित्रण गरेको सुनाए । सहकारी व्यवसायको सुरुवातले बसी खाने परम्पराको अन्त्य गरेको भएपनि धेरै संस्थाहरु सहकारीका सिद्धान्त बाहिर गएर सञ्चालन भएको पोखरेलको भनाई छ ।

कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले एनएमसीले आफ्नो स्थापनाकालदेखि नै कति पनि विचलित नभई सहकारीका मूल्य र मान्यताहरुलाई आत्मसात गदैं अघिबढेका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमै आाफूलाई अलगरुपमा पहिचान गराउन सफल भएको बताए । एनएमसी नेपालका धेरै सहकारीहरुका लागि पाठ बन्ने र यस संस्थाबाट धेरै कुरा सिक्नुपर्ने अध्यक्ष ढकालको भनाई छ ।

संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले संस्थाको विगत, वर्तमान र भविष्यका बारेमा चर्चा गरेका थिए । उनले संस्थाले सहकारी पसल, एनएमसी डेरी उद्योग, कृषि परियोजना लगायतका बहुउद्देश्यीय काम गरिरहेको जानकारी दिए ।

कार्यक्रमको सञ्चालन चारआली कार्यालयका प्रमुख प्रकाश पौड्यालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *