भद्रपुरका पाँच धरोहरलाई मरणोपरान्त अभिनन्दन
Published:
by .काठमाडौं । झापाको सदरमुकाम भद्रपुरमा बसेर आफ्नो इमानदार कर्मद्वारा राष्ट्रियरुपमा योगदान पुर्याउनु हुने पाँचजना व्यक्तित्वलाई मरणोपरान्त अभिनन्दन गरिएको छ ।
नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै भद्रपुर सरोकार समाज काठमाडौंले राजधानीमा आयोजित एक समारोहका बीच अभिनन्दन गरेको हो ।
समाजले अग्रज पत्रकार, अन्वेषक, प्रजातन्त्र सेनानी सोहनलाल (एसएल शर्मा), राजनीतिज्ञ, पत्रकार, वामआन्दोलनका अग्रणी व्यक्तित्व पूर्व वनमन्त्री द्रोणाचार्य क्षेत्री, महिला सशक्तिरणबाट सामाजिक क्षेत्रमा योगदान पुर्याउने पूर्व रापंस दिलकुमारी श्रेष्ठ (मेची आमा), शिक्षासेवी घनश्याम खनाल र कृषिको माध्यमबाट औद्योकिकीरणमा योगदान पुर्याउनुहुने सुन्दरलाल सिंह राजवंशीलाई मरणोपरान्त अभिनन्दन गरेको हो ।
लामो समय खोज पत्रकारितामार्फत नेपाली राजनीतिक परिवर्तन तथा सामाजिक विकासमा योगदान पुर्याउने भद्रपुरका एसएल शर्माको वि. सं २०६० सालमा निधन भएको थियो । उनले जीवनभर भद्रपुरमा रहेर पत्रकारितासँगै राजनीतिक परिवर्तनका लागि संघर्ष गरेको अभिनन्दनपत्रमा उल्लेख छ ।
यसैगरी, अभिनन्दित द्रोणाचार्य क्षेत्री निरंकुश पञ्चायतका विरुद्ध लड्ने वामआन्दोलनका अग्रज राजनीतिज्ञ थिए । उनले पत्रकारिताको माध्यमबाट समज परिवर्तनमा पनि उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।
मेची आमा समाज सुधारक महिला नेतृ थिइन् । यस्तै, सुन्दरलालले वि. सं २०१६ मा निजी क्षेत्रको पहिलो चिया उद्योग स्थापना गरेर सयौंलाई रोजगारी प्रदान गरेका थिए ।
शिक्षासेवी खनालले २०३६ सालमा मेची बहुमुखी क्याम्पसको प्रमुख भई क्याम्पसको भवन निर्माण र उच्च शिक्ष्षको विकासमा योगदान पुर्याएका थिए ।
समाजका अध्यक्ष वेदनिधि निरालाको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, पूर्व सांसद जीतु गौतम लगायतले अभिनन्दित व्यक्तित्वका परिवारलाई अभिनन्दनपत्र हस्तान्तरण गरेका थिए ।
Comments