जलथलमा किसानलाई अनुदान, स्वयम्सेवीलाई साइकल
Published: (Updated: )
by .हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. ४ जलथलले स्थानीय अगुवा कृषकहरुलाई तरकारी तथा पशुपालनका लागि अनुदान रकम वितरण गरेको छ ।
वडा कार्यालयमा व्यवसायिक कृषि उत्पादन अनुदान वितरण कार्यक्रमको आयोजना गरी च्याउ खेती, तरकारी खेती र बाख्रापालक कृषकहरुलाई अनुदान रकम वितरण गरेको हो । सोही कार्यक्रममा स्थानीय ५ जना स्वयंसेवीकालाई १–१ थान साइकलसमेत प्रदान गरिएको छ ।
च्याउ खेती गर्ने, सब्जी खेती गर्ने र बाख्रापालन गर्ने कृषकहरुलाई वडाअध्यक्ष होमप्रसाद चुंडाल, कार्यपालिका सदस्य गीता भण्डारी तिम्सिना, वडासदस्य महेश मेचे, सदस्य पवित्रा सेन्चुरी, सदस्य केदारप्रसाद उप्रेतीलगायतले अनुदान रकमको चेक हस्तान्तरण गर्नुका साथै स्वयंसेवीकाहरुलाई साइकलको चाबी प्रदान गरेका हुन् ।
वडा कार्यालयले सब्जी खेती गर्ने अगुवा कृषकलाई ए, बी र सी ग्रेडमा वर्गीकरण गरेर अनुदान रकम वितरण गरेको थियो । जस अन्तर्गत ए ग्रेडका कृषकलाई जनही १८ हजार, बी ग्रेडका कृषकलाई जनही १२ हजार र सी ग्रेडका कृषकलाई जनही ७ हजार ५०० रुपैयाँका दरले अनुदान रकम वितरण गरेको हो ।
त्यस्तै, च्याउ खेतीतर्फ बास्मती कृषक समूह, चन्द्रबहादुर तामाङ र सीता नेउपानेलाई २५–२५ हजार र विष्णुप्रसाद ढकाल र रुद्र मैनालीलाई संयुक्त रुपमा २५ हजार रुपैयाँको चेक प्रदान गरिएको थियो ।
त्यस्तै, बाख्रा पालनतर्फ सुनिल मेचे, श्रीप्रसाद मैनाली र जीतबहादुर राजवंशीलाई क्रमशः ३० हजार रुपैयाँ प्रदान गरियो । सब्जी खेतीका लागि विजय लावती, कुमार खतिवडा, इन्द्र खरेल, धनकुमारी चापागार्इं, कुलबहादुर आचार्य, चन्द्रबहादुर तामाङ र शुक्रचन मेचेलाई अनुदानको चेक प्रदान गरिएको थियो ।
अनुदान कार्यक्रम लञ्च गर्दै वडाअध्यक्ष होमप्रसाद चुडालले गाउँपालिकाको दोस्रो गाउँसभाबाट पारित गरी मापदण्ड पुर्याएर कृषकहरुलाई अनुदान रकम वितरण गरिएको बताए । अनुदान वितरण कार्यक्रमको औचित्य प्रकाश पार्दै वडासदस्य महेश मेचेले गाउँसभाले वडा कार्यालयलाई तोकेको ४० लाख रुपैयाँको सिलिङ भित्र रहेर शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन र अन्य क्षेत्रमा लगानी गरेको जानकारी दिए ।
हल्दिबारीको दृष्टि कृषि र पर्यटन मार्फत समृद्धी भन्ने कार्यक्रम सार्थक बनाउन अनुदान कार्यक्रम लञ्च गरिएको मेचेले जानकारी दिए । अनुदान रकम वितरणले कृषकहरु आत्मनिर्भर बन्न सफल हुनेछन भन्ने कार्यक्रमको लक्ष्य रहेको पनि वडासदस्य मेचेले बताए ।
वडा अध्यक्ष होम चुडालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्यहरु महेश मेचे, पवित्रा सेन्चुरी, सदस्य गीता भण्डारी तिम्सिना, सदस्य केदारप्रसाद उप्रेती, महिला स्वयंसेवीका कमला भट्टराई, च्याउ कृषक सीता नेउपाने, सब्जी कृषक श्यामलाल मेचे, बाख्रापालक कृषक सुनिल मेचे, सहायक कर्मचारी जयप्रसाद दाहाललगायतले अनुदान कार्यक्रम सराहनीय रहेको बताए ।
Comments