महिलालाई पानी उद्यमी बनाउन महत्वपूर्ण समझदारी
Published:
by .काठमाडौं । स्वच्छ पिउने पानीको उद्योग सञ्चालन गरी महिलालाई उद्यमी बनाउने उद्देश्यले दक्षिण एसियाली महिला विकास मञ्च, राष्ट्रिय वाणिज्य बैंक र भारतको टाटा कम्पनीबीच समझदारी भएको छ ।
खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा महिला विकास मञ्चले बुधबार आयोजना गरेको कार्यक्रममा पानीको प्रशोधन गरी उत्पादन र बजारीकरण गर्ने र महिलालाई पानी उद्यमी बनाउने योजनासहित समझदारी भएको हो ।
समझदारी पत्रमा मञ्चको तर्फबाट अध्यक्ष प्रमिला आचार्य रिजाल, वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र टाटा कम्पनीको तर्फबाट एच ई कुट्टीले हस्ताक्षर गरेका छन् ।
मञ्चको नेतृत्वमा गरिएको कार्यक्रममा महिला उद्यमी महासंघ, मानुषी लघु वित्तीय संस्था र व्यावसायिक महिला महासंघसमेत यस परियोजनामा जोडिएका छन् ।
महासंघका अध्यक्ष शारदा रिजाल, मानुषी लघुवित्तको तर्फबाट अध्यक्ष पद्मासना शाक्य र व्यावसायिक महिला महासंघबाट प्रथम उपाध्यक्ष कमलेशलता राजभण्डारीले पनि समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
प्रशोधित पानी उद्योगमा महिलालाई सहभागी गराई उद्यमी बनाउने परियोजना अन्तर्गत पहिलो चरणमा काभ्रे जिल्लाको नाला र पनौतीबाट योजना सुरु गरिनेछ । महिलाहरुमा उद्यमशीलताको विकास गर्न राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण ऋण सहयोग गर्नेछ भने टाटा कम्पनीले प्राविधिक सहयोग गर्ने जनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले महिलाहरुलाई उद्यमी नबनाएसम्म समृद्ध नेपाल बन्न नसक्ने जिकिर गरिन् । पानीको व्यवसायमा महिलाहरुलाई आकर्षित गर्न मन्त्रालयले पूर्ण सहयोग गर्ने उनको भनाई छ ।
महिलाहरुलाई उद्यमशील बनाउने कार्यमा लाग्ने एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासंघ लगायतका संस्थाहरुलाई मन्त्री मगरले धन्यवाद पनि दिएकी छन् ।
कार्यक्रममा मञ्चका अध्यक्ष प्रमिला आचार्यले अबको दुई वर्षभित्र २०० वटा स्वच्छ पिउने पानीको उद्योग देशैभरि सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिइन् । आर्थिक समृद्धि ल्याउने हो भने महिलालाई उद्यमशीलता बनाउनु अति जरुरी रहेको उनको तर्क छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वाणिज्य बैंकका नेपाल भरिकै शाखाहरुबाट १ दशमलब ६ प्रतिशत सहुलियतपूर्ण ब्याजदरमा महिलाहरुलाई ऋण लगानी गरिने प्रतिबद्धता जनाए । बैंकले दिने सस्तो ब्याज महिलाहरुकै क्षमता अभिवृद्धिका लागि हुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले स्पष्ट पारेका छन् ।
Comments