Sajhamanch Archive

झापामा सद्धाम हुसेनलाई आजीवन काराबासको फैसला

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

झापा । कमल गाउँपालिका वडा नं. ६ मंगलबारेका कपडा व्यापारी खेमराज पौडेलको हत्यामा संलग्न सद्दाम हुसेन मियालाई आजीवन कारावासको फैसला भएको छ ।

झापा जिल्ला अदालतले मुलुकी अपराध संहिता २०७४ को दफा २११ (१), ऐनको दफा २१३ बमोजिम ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना, सोही ऐनको १७७ (१) को कसुरमा सोही ऐनको १७७ (२) बमोजिम जन्मकैदको सजाय तोकिएको श्रेष्तेदार दुर्गाप्रसाद खनालले जानकारी दिए ।

मुलुकी अपराध संहिता ऐन २०७४ लागू भएपछि झापामा अदालतले आजीवन कारावासको फैसला गरेको यो पहिलो घटना हो । नयाँ कानून कार्यान्वयनमा आएसँगै झापामा पहिलोपटक आजीवन कारावासको फैसला भएको अदालतका श्रेष्तेदार खनालले बताए ।

खनालका अनुसार अपहरण गरी पोडैलको हत्यामा कसुर ठहर गर्दै सोही ऐनको दफा ४३ (२) बमोजिम र दफा ४१ बमोजिम हुसेनलाई आजीवन कैदको सजाय सुनाइएको हो । सोही ऐनको दफा २१७ तथा ज्यान मार्नेतर्फ १८६ बमोजिम प्रतिवादीबाट पत्नी जाहेरवालालाई एक लाख क्षतिपूर्ति भराइदिने आदेश समेत भएको जनाइएको छ ।

हुसेनले गतवर्ष भदौ २६ गते घाँटी र टाउकोमा छुरा प्रहार गरी पौडेलको हत्या गरेका थिए । सद्दामले आफै पौडेललाई पैसा लिन आउनु भनी गौरीगन्ज बोलाएर एकान्तमा लगि हत्या गरेका थिए ।

मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार भएको थियो । पौडेलको हत्यापछि प्रहरीले घटनास्थलमा उनको मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोबाइल फोन र व्याग फेला परेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *