रहेनन् उदयदेव, पार्थीव शरीर विपीलाई हस्तान्तरण
Published:
by .भद्रपुर । भद्रपुर नगर क्षेत्रमा शरीर दान गर्ने पहिलो व्यक्तिको पहिचान बनाएका समाजसेवी उदयदेव शर्मा आचार्यको आज शनिबार बिहान साढे ४ बजे हृदयघातका कारण निधन भएको छ । आचार्यको पार्थीव शरीर आजै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण पनि गरिसकिएको छ ।
कान्छा छोरा राजकुमार आचार्यका अनुसार बाबुको इच्छा अनुसार पार्थीव शरीर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो । भद्रपुर १० चन्द्रगढी घर भएका आचार्यले २०६५ सालमा आफ्नो शरीर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई दान गरेका थिए ।
आचार्यको इच्छा अनुसार परिवारले मृत्युपछि दाह संस्कार नगरी प्रतिष्ठानलाई शरीर हस्तान्तरण गरेको हो । वि सं २००७ साल असोज १३ गते खोटाङको सदरमुकाम दिक्तेलमा जन्मिएका आचार्य नेपाल प्रहरीका निवृत्त प्रहरी निरीक्षक हुन् ।
वैदिक समाज झापाका संस्थापक उपाध्यक्ष, पूर्व प्रहरी संगठन झापाका सदस्य, ब्र्राम्हण समाज झापाका सदस्यलगायत विभिन्न सामाजिक संघ–संस्थामा आवद्ध रहेका आचार्य सामाजिक रूपान्तरणका लागि परम्परागत कुसंस्कारको विरूद्ध जागरण अभियानसमेत चलाउँदै आइरहेका थिए ।
Comments