श्रीजय ड्रीमल्याण्ड पार्कमा जेठ ४ देखि ‘लिची फेस्टिवल’
Published:
by .बिर्तामोड । बिर्तामोड नगरपालिका ३ मा स्थापित श्रीजय ड्रीमल्याण्ड पार्कमा जेठ ४ गतेदेखि ५ दिनसम्म ‘लिची महोत्सव’को आयोजना गरिने भएको छ ।
कनकाई एजुकेशन फाउण्डेसनका संस्थापक, सामाजिक तथा धार्मिक व्यक्तित्व जयनारायण ढुङ्गानाले बिर्तामोड–३ स्थित कछुबारीमा रहेको १५ विगाहा जमिनमा लगाइएको फलफूल बगानमा ‘लिची फेस्टिवल’ गर्न लागेका हुन् ।
‘फलफूल बगानमा लटरम्म फलेर रातैभई पाकेका लिची आफ्नै हातले टिपेर खाने अवसर नै ‘लिची फेस्टिवल’को उद्देश्य हो’ संस्थापक ढुङ्गानाले भनेका छन् । ‘लिची फेस्टिवल’को अवधिमा बगानमा प्रवेश गर्न १०० रुपैयाँ तिर्नुपर्नेछ, बगानभित्र गएर छानीछानी पाकेको लिची खान पाइने व्यवस्था मिलाइएको आयोजकको भनाई छ ।
बगानमा विषादि रहित फलफूलहरु आँप, कटहर, लिची, अम्बक आदि उत्पादन गर्ने गरिन्छ । फलफूल ब्यापारीलाई बिक्री गरियो भने उपभोक्तालाई कहाँबाट ल्याएको, कस्तो गुणस्तरको छ भनेर शंका भइरहन्छ । तर आफैंले बगान हेरेर त्यहाँबाट खरिद गर्दा उपभोक्ता पनि विश्वस्त हुने भएकाले गतवर्षबाट यस्तो फेस्टिवल गर्न थालिएको संस्थापक ढुङ्गानाको भनाई छ ।
श्रीजय ड्रिमल्याण्डमा आयोजना गरिने लिची फेस्टिवलमा यो वर्ष पाँच हजार जनाले अवलोकन गर्ने तथा लिची खरिद गर्ने उनको अपेक्षा छ । अमेरिका घुम्न जाँदा आफूले त्यहाँ एप्पल फेस्टिवलमा सहभागी भएको अनुभवका आधारमा यस्तो प्रयास थालेको संस्थापक ढुङ्गानाले बताए ।
लिची फेस्टिवलमा सहभागीहरुले घर लैजानका लागि भने गेटमा राखिएको स्टलबाट खरिद गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।
Comments