डाक्टर पढाउने डाक्टरहरुको सेवा अब बी एण्ड सीमा
Published:
by .बिर्तामोड। बिर्तामोडको बि एण्ड सी अस्पताल अन्तरगत सञ्चालनको तयारीमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पताललाई अत्याधुनिक, प्रविधियुक्त एवम् दक्ष जनशक्तिले भरिपूर्ण बनाउने उद्देश्यमा सञ्चालकहरु नजिक पुगेका छन् ।
क्यान्सर हस्पिटल निर्माणको अन्तिर चरणमा पुगेसंगै अस्पतालमा दुईजना प्रोफेसर डाक्टरहरुले सेवा प्रदान गर्नेगरी अस्पताल ज्वाइन गरेका छन् भने १५ दिनभित्र अर्का वरिष्ठ चिकित्सकले एमबीबीएस कक्षा सञ्चालनको नेतृत्व सम्हाल्ने तय भएको छ ।
क्यान्सर अस्पतालका लागि गाइनो अंकोलोजिस्ट प्रा. डाक्टर गेहनाथ बराल र प्याथोलोजिस्ट प्रा. डाक्टर रीतु बराललाई अस्पतालले नियुक्त गरेको छ । यस्तै आगामी शैक्षिक सत्रदेखि एमबीबीएस कक्षा सञ्चालन गर्ने तयारीमा रहेकाले सो कलेजको प्रिन्सिपल बनाउन काठमाडौंको शिक्षण अस्पतालबाट एकजना डाक्टर बोलाइएको अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले जानकारी दिएका हुन् ।
बी एन्ड सीका निर्देशक डा. निराजन पराजुलीले प्रोफेसरद्वयको आगमनले सञ्चालनको तयारीमा रहेको पूर्वाञ्चल क्यान्सर हस्पिटलले पूर्णता पाएको बताए ।
त्रिभुवन युनिभर्सिटीमा एमबीबीएस र एमडी गरेका प्रा. डा. बरालले महिलाको क्यान्सरसम्बन्धी फेलोसिप कोरिया र क्लिनिकल रिसर्च क्यानडामा गरेको बताए । उनी महिलाको क्यान्सरसम्बन्धी शल्यक्रिया गर्न अब्बल मानिन्छन् ।
बि एन्ड सीबाट सेवा प्रदान गर्न आउनुको कारण सुनाउँदै डा. बरालले भने, आवश्यक पूर्वाधार र सेवा सुविधा भएकाले काम गर्न इच्छुक भएको हुँ, अझ क्यान्सरको उपचार गर्न आवश्यक उपकरण तथा ल्यावरेटोरीको उच्च व्यवस्था रहेको पाएपछि आफ्नै जिल्लामा बसेर सेवा दिने सोच बनाएको हुँ ।
पूर्वका अस्पतालले पहिलोपल्ट प्रोफेसर डाक्टर पाएको भन्दै हस्पिटलका कार्यकारी निर्देशक प्रसाईंले खुसी व्यक्त गरे । डाक्टर पढाउने डाक्टरले अब बी एन्ड सीमा उपचार गर्छन, उनले भने, अब बी एन्ड सीको उपचार पहिलेभन्दा स्तरीय हुनेछ ।
प्रोफेसर डाक्टर रितु बरालले आफू प्याथोलोजी डिपार्टको भएकोले यहाँको प्रयोगशाला चित्त बुझेर तथा अब छिट्टै सञ्चालन हुने टिचिङ सेक्सनको जिम्मेवारीमा रहन झापा आएको बताइन् । उनी पहिले राप्ती एकाडेमीको डीन तथा पाटन अस्पतालको चिफ भइसकेको व्यक्ति हुन् ।
बि एन्ड सीका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार पूर्वाञ्चल क्यान्सर हस्पिटल करिब चार महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ भने यसै शैक्षिक सत्रबाट एमबीबीएस कक्षा पनि सुरु हुनेछ ।
Comments