Sajhamanch Archive

भद्रपुर नगर कार्यपालिकाको कार्यशैलीप्रति वडाध्यक्षहरु नै असन्तुष्ट

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, by .

भद्रपुर । भद्रपुर नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम बनाउँदा नगर नेतृत्वले कार्यपालिका सदस्यका रूपमा रहने वडाध्यक्षलाई जानकारी नै नदिएको पाइएको छ । आर्थिक वर्ष २०७६।७७ का लागि वार्षिक योजना तर्जुमा सम्बन्धी मार्गदर्शन बनाउँदा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले एकलौटी तरिकाले तयार गरेको पनि आरोप लागेको छ ।

नगरको सन्तुलित विकासमा झारा टार्ने काम मार्गदर्शनमार्फत गरिएको भन्दै वडाध्यक्षहरुले आपत्ति पनि जनाएका छन् । नगरपालिकाले आयोजना गरेको आर्थिक वर्ष २०७६।७७ का लागि बजेट, नीति तथा कार्यक्रम तयारीका लागि पूर्व योजना तर्जुमा गोष्ठीमा चारजना वडाध्यक्षले असहमति जनाएका हुन् ।

१० वटा वडा रहेको भद्रपुर नगरपालिकाका नगर प्रमुखसित असहमति राख्ने ४ जना वडाध्यक्षले जनताका पक्षमा काम गर्न नगर नेतृत्वलाई दवाव दिने गरेपछि बहुमतको आडमा उनीहरूको आवाज दवाउन नीति तथा कार्यक्रम तयार गर्दा जानकारी नदिइएको उनीहरू बताउछन् । न्यून उपस्थिति रहेको कार्यक्रममा सर्वसाधारण भन्दा बढी जनप्रतिनिधिले असहमति जनाउदै आ–आफनो धारणा राखेका थिए ।

वडाध्यक्षलाई जानकारी नै नगराई छलफलका लागि तयार पारिएको मार्गदर्शन झारो टार्ने काम भएको भन्दै ७ नम्बर वडाध्यक्ष विनोदप्रसाद पोखरेलले असहमति जनाए । योजना छनौटका लागि तयार पारिएको कार्यतालिकासमेत नमिलेकोले तत्काल सच्याउन पोखरेलले सुझाव दिएका थिए ।

गत आर्थिक वर्ष २०७४।७५को मूल्याङ्कन, समीक्षा नै नगरी एकलौटी ढंगले आगामी वर्षको नीति तथा कार्यक्रमका लागि तयार गरिएको मार्गदर्शनको कुनै तुक नरहेको ४ नम्बर वडाध्यक्ष हंशधर राजवंशीको भनाई छ । विगतको धरातललाई टेकेर सबै जनप्रतिनिधिलाई समेटेर लैजान उनले सुझाव दिए ।

त्यसैगरी वडा नम्बर ५ का अध्यक्ष बन्धु कार्कीले बोलेरमात्र समृद्धि नआउने जनाए । लोकसेवा पास गरेर आएका कर्मचारीले ‘ढोगसेवा’का जनप्रतिनिधिलाई वास्ता नगरेको प्रष्ट पारे । केही जनप्रतिनिधिले नगरपालिकालाई बहुमतको आडमा पेवा बनाएर यो पार्टी र त्यो पार्टी भन्दै विभेद गरेको उनको भनाई छ । संविधानमा लेखेको कुरालाई समेत वास्ता नगरेर एकलौटी भरमा तयार पारिएको मार्गदर्शन अमान्य हुने तर्क गरे ।

गत आर्थिक वर्ष ०७४।७५को समीक्षा नै नगरी तयार पारिएको योजना तर्जुमा ठीक नभएको वडा नम्बर ८ का अध्यक्ष गौरब सुब्बाले धारणा राखे । वडामा निर्माण भइरहेका सडकका बारेमा समेत जानकारी नै नदिइ विभेदपूर्ण काम भइरहेको आरोप लगाए । सगरमाथा चौकदेखि झापा चोकसम्म ३२ भन्दा माथि ठाउँमा खानेपानीको पाइप सडकमा फुटेका भए पनि खानेपानी संस्थानलाई नगर प्रशासनले केही नभनेका कारण दुषित पानी पिउन नागरिक बाध्य भएको प्रष्ट्याए ।

प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले मार्गदर्शन प्रस्तुत गरेका हुन् । श्रेष्ठले प्रस्तुत गरेको मार्गदर्शनमा उद्योग, व्यापार, कृषि र पर्यटनको विकास र विस्तारद्वारा नगरलाई पूर्वी नेपाल कै आधुनिक नगरको रुपमा विकास गर्ने उल्लेख गरिएको छ । पूर्वी क्षेत्रको व्यापारिकद्वार शान्ति, समृद्धिसहितको भद्रपुर नगरलाई दीर्घकालिन सोच वनाइएको छ । चौथो नगरसभा वैशाख ३० बाट शुरुभई असार १० गते सम्म रहने कार्यतालिका प्रस्तुत गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *