नेपाली काँग्रेसको पराजय काँग्रेसकै कारणः नेता बाँस्कोटा
Published:
by .मेचीनगर । नेपाली काँग्रेसले शुरु गरेको राष्ट्रिय जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधि भएर झापा पठाइएका पार्टीका पूर्व केन्द्रीय सदस्य दीपकप्रकाश बाँस्कोटाले पार्टी भित्रैको बेमेलले जाताततै हार व्यहोर्नु परेको प्रष्ट्याएका छन् । काँग्रेस कार्यकर्ता भित्र नै आपसी मेलमिलाप नहुँदा हरेक क्षेत्रबाट पार्टीले नोक्सान व्यहोर्नु परिरहेको उनको बुझाई छ ।
बिहीबार झापाको मेचीनगरमा आयोजित जागरण अभियानमा बोल्दै नेता बाँस्कोटाले भनेका छन्, ‘यदि कहिँ कतै कुनै निर्वाचनमा नेपाली काँग्रेसले पराजय भोग्नु पर्छ भने त्यो काँग्रेसकै कारणले भोग्नुपर्ने छ, परिरहेको छ । नेपाली काँग्रेसलाई नेपाली काँग्रेसले मात्रै हराउन सक्छ, काँग्रेस बाहेक अन्य कुनै शक्तिमा नेपाली काँग्रेसलाई हराउन सक्ने तागत छैन ।’
अब पार्टीभित्र बसेर एक आपसमा आरोप प्रत्यारोप गरेर पार्टीलाई कमजोर बनाउनु भन्दा हरेक नेता कार्यकर्ता एक ठाउँमा उभिएर पार्टीलाई दह्रो र मजवुत बनाउने बेला आएको उनको भनाई छ । नानाथरिका कुरा निकालेर अरुलाई गाली गलौज गर्दै अर्काको आलोचनामा समय खर्चिनुभन्दा आफूभित्रको कमजोरी पत्ता लगाएर आफू के गर्दैछु भनेर खोज्न उनले हरेक नेता कार्यकर्तालाई सुझाव पनि दिएका छन् ।
Comments