कमलमा धमाधम टोल विकास संस्था
Published:
by .कमल । झापाको कमल गाउँपालिका अन्य पालिकाको तुलनामा विकास निर्माण लगायतका विषयमा निकै अगाडि बढेको पाइएको छ । पालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछिको २ वर्षको अवधिमा गाउँपालिकामा सडकको स्तरोन्नति, ग्रामीण विद्युत विस्तार, शिक्षा क्षेत्रमा सुधार, कृषिमा यान्त्रिकरणको प्रयोगले विकासमा फड्को मारेको हो ।
दुई वर्षको अनुभव लिएका जनप्रतिनिधिले आगामी आर्थिक वर्षमा के–कस्ता कार्यक्रम ल्याउँदा जनताका आवश्यकता सम्बोधन हुन्छन् भनी टोलटोलमा पुगेर सुझाव लिने तथा टोल विकास संस्था गठन गर्ने कार्यमा लागेका छन् ।
यसरी गठन गरिएका टोलविकास संस्थाले जेठ १० गतेबाट बस्तीभेला गरेर आफ्नो टोलमा देखिएका समस्या, आवश्यकता र तिनलाई पूरा गर्न के गर्न सकिन्छ भनी सुझाव लिने दिने कार्यक्रम तयार भएको छ । यसरी गाउँ टोलमा पुगेर संकलित सुझावको आधारमा गाउँपलिकाले आगामी आर्थिक वर्षको लागि बजेट, नीति तथा कार्यक्रम तयार परिने गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताएकी छन् ।
कमल गाउँपालिकामा ८० वटाभन्दा बढी टोल विकास संस्था गठन हुनेछन् र तिनै संस्थाबाट आएका सुझावको आधारमा नीति तथा कार्यक्रम तयार पारिने प्रमुख प्रशासकीय अधिकृत युवराज ढकालले बताए । जनताले जनताकै लागि भोलिका दिनमा ती कार्यक्रम कार्यान्वयन गराउन टोल विकास संस्थाहरु प्रभावकारी औजार बन्न सक्ने प्रशासकीय अधिकृत ढकालको बुझाई छ ।
यसैबीच, वडा नम्वर ३ का वडाध्यक्ष नरप्रसाद दंगालको सहजीकरणमा समावेशी टोल विकास संस्था गठन भएको छ । वडाध्यक्ष दंगालले टोल विकास संस्था गठनको प्रक्रिया एवम् संस्था गठन गर्नुको उद्देश्य प्रष्ट पारे पछि सोही भेलाले खगेन्द्र बाराकोटीको अध्यक्षतामा १३ सदस्यीय समावेशी टोल विकास संस्था गठन भएको हो ।
Comments