सडकमा निस्किए पत्रकार
Published:
by .झापा । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको बिरोध गर्दै झापाका पत्रकारले आज जिल्ला प्रशासन कार्यालय भद्रपुर र इलाका प्रसाशन कार्यालय दमकमा र्यालीसहित पुगेर सञ्चारसामग्री लिएर धर्ना कसेका छन् ।
सरकारले मिडिया काउन्सिल विधेयक मार्फत पत्रकारलाई समाचार लेखेकै आधारमा २५ हजार देखि १० लाख रुपैयाँसम्म जरिवाना हुने गरी विधेयक संसदमा लगेपछि पत्रकार महासंघको ब्यानरमा पत्रकारहरु आन्दोलित भएका हुन् ।
नेपाल पत्रकार महासंघ झापाको आयोजनामा भएको विरोध कार्यक्रम जिल्ला प्रशासनमा कोणसभा गरी विधेयक फिर्ताको माग गरिएको हो । चन्द्रगढी ट्रेड यूनियन चोकबाट पत्रकारले सुरु गरेको र्याली प्रशासन कार्यालय अगाडि कोणसभा गरी सम्पन्न भएको थियो ।
उनीहरुले प्रेस स्वतन्त्रता जिन्दावाद, मिडिया काउन्सिल विधेयक फिर्ता गर, प्रेस स्वतन्त्रता हनन् गर्न पाइँदैनजस्ता नारा लगाउँदै जिल्ला प्रशासन पुगेका थिए ।
सभामा पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, मुक्ति पौडेल, नारी सञ्चार गृहकी सचिव रेजिना रोदन र प्रेस यूनियनका राजेन्द्र गौतमले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्नेगरी ऐन ल्याउन खोजिएकाले आन्दोलन गर्नुपरेको बताए ।
यस्तै दमक क्षेत्रका पत्रकारहरुले इलाका प्रशासन कार्यालय अगाडि धर्नासहित कोणसभा गरेका छन् । नेपाल पत्रकार महासंघले विधेयक फिर्ताको माग गर्दै आज देशभर प्रदर्शनसहित विरोध गरेको हो ।
Comments