काँकरभिट्टामा प्रदेश स्तरीय रेफ्री प्रशिक्षण शुरु
Published:
by .मेचीनगर । आधुनिक र प्रविधिमैत्री रेफ्री उत्पादन गर्ने उद्देश्यले १ नम्बर प्रदेश स्तरीय रेफ्री प्रशिक्षण आइतबारदेखि झापाको मेचीनगरमा शुरु भएको छ । अखिल नेपाल फुटबल संघको आयोजना तथा झापा जिल्ला फुटबल संघको संयोजनमा ११ गतेसम्म चल्ने सो प्रशिक्षणमा १ नम्बर प्रदेशभरिका १० वटा जिल्लाबाट ३ महिलासहित ३३ जना सहभागी छन् ।
काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा शुरु प्रशिक्षणको अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले उद्घाटन गरेका थिए । उनले नेपालको खेलकुद क्षेत्रलाई विश्वभर चिनाउन हरेक विधाका खेलको विकास र प्रवद्र्धनमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले अब हरेक खेलाडी र निर्णयकले आफूलाई समयानूकुल बनाउर्दै लैजानु पर्नेमा जोड दिए ।
मुख्य प्रशिक्षक फुटबल रेफ्री लव खत्रीले अब खेलसँगै अध्यनलाई पनि अघि बढाउन प्रशिक्षार्थीलाई आग्रह गरे । उनले अब अध्ययन र प्रविधिलाई पछ्याउन सकिएन भने अघि बढ्न नसक्ने सुझाव दिए ।
कार्यक्रममा नाइट चेस क्लब काँकरभिट्टाका अध्यक्ष नवराज खनिया, राप्रपाका मेचीनगर अध्यक्ष सुशील आचार्यलगायतले बोलेका थिए । झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेतले सञ्चालन गरेको उद्घाटनसत्रमा सहभागी सवैलाई उपाध्यक्ष मनिष दाहालले स्वागत गरेका थिए ।
प्रशिक्षकका रुपमा खत्रीसहित पूर्व फिफा सहायक रेफ्रीहरु मधुसुदन, रोजिन श्रेष्ठ र शैलेस जोशी छन् । उनीहरुले सहभागी प्रशिक्षार्थीहरुलाई व्यवहार र सैद्धान्तिक ज्ञान दिनेछन् ।
Comments