कमलका बंगुरपालक कृषकलाई विर वितरण
Published:
by .कमल । कमल गाउँपालिकाको आर्थिक सहयोग तथा व्यवसायिक बंगुरपालन कृषि समितिको व्यवस्थापनमा आज यहाँका किसानलाई बंगुरका पाठा वितरण गरिएको छ । ४० जना कृषकलाई ड्युरोक, हेमसायर, ल्याण्ड्रेस जातका बंगुरका पाठा वितरण गरिएको हो ।
कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले व्यवसायिक फर्म सञ्चालकहरुलाई बंगुरका पाठा हस्तान्तरण गरेकी हुन् । पाठा हस्तान्तरण पछि बोल्दै अध्यक्ष काफ्लेले कमल गाउँपालिकाको वडा नम्बर ४ लाई बंगुरको पकेट क्षेत्र बनाउने उद्देश्यका साथ उच्च नश्लको पाठा वितरण गरिएको बताइन् ।
कमल गाउँपालिकाका सबै क्षेत्रमा सडक र बिजुलीजस्ता विकासका पूर्वाधार पुगिसकेकाले अबको लक्ष भनेको कृषकको जीवनस्तर उकास्ने खालका कार्यक्रममा लगानी बढाइने अध्यक्ष काफ्लेले बताइन् । कृषक भन्दैमा हिलोमैलो हुनैपर्छ भन्ने छैन, राम्रो मेहनत गरेर आम्दानी बढाउन व्यवसायीलाई अनुरोध गर्दै आगामी दिनमा कृषकका ओठमा हाँसो ल्याउनका लागि गाउँपालिकाले प्रसस्त सहयोग गर्ने उनको भनाई छ ।
गाउँपालिकामा रहेका व्यवसायिक बंगुर फार्मलाई नश्ल सुधार गरी किसानको आम्दानी वृद्धि गर्ने उद्देश्यले उच्चकोटीको सिमेन (विर्य) प्रयोग गरी जन्मिएका बंगुरका पाठा (विर) वितरण गरिएको गाउँपालिकाको पशुसेवा शाखाका प्रमुख बद्री भट्टराईले जानकारी दिए ।
Comments