मार्बल, ग्रेनाइट र टायल्सको आयात ठप्प पार्ने चेतावनीसहित भन्सारमा ज्ञापन
Published: (Updated: )
by .बिर्तामोड । नेपाल मार्बल व्यापार संघ झापा शाखाले आइतबार मेची भन्सार कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै मार्बल, ग्रेनाइट र टायल्सको अधिकतम् खुद्रा मूल्य (एमआरपी) प्रकाशित गर्न नसक्ने अवगत गराएको छ ।
भन्सार विभागले गत वैशाख २५ गते उक्त वस्तुसहित विभिन्न ११ किसिमका आयातित वस्तुमा पैठारीकै अवस्थामा एमआरपी प्रकाशित गर्न अनिवार्य भन्दै मातहतका निकायमा पत्राचार गरेको थियो । विभागको निर्देशनपछि केही दिनदेखि मार्बल, ग्रेनाइट र टायल्सको आयात ठप्प थियो । तत्कालका लागि भन्सार प्रमुखसँग छलफल गरी आयात खोलिए पनि समस्या भने समाधान भएको छैन ।
संघका अध्यक्ष कुशल खतिवडाको नेतृत्वमा गएको टोलीले मेची भन्सार प्रमुख टेकबहादुर अर्याललाई ध्यानाकर्षण पत्र बुझाएको हो । मार्बल, ग्रेनाइट र टायल्सको आकार, गुणस्तर तथा फिनिसिङ अनुसार यसको मूल्यमा पनि विविधता हुने भएकाले एमआरपी प्रकाशित गर्न नसक्ने अध्यक्ष खतिवडाले बताए ।
मार्बल पृथ्वीको गर्भबाट निकालिने र चौरमा राखेर व्यापार गरिने खनिज पदार्थ भएकाले यसको एमआरपी भारतसहित विश्वका कुनै देशमा लागू नभएको संघको दाबी छ । २०६८ सालमा पनि उक्त वस्तुमा एमआरपी लागू गर्नुपर्ने निर्णय भएकोमा व्यवसायीसँगको छलफलपछि त्यो निर्णय अव्यवहारिक रहेको महशुस गरी लागू नगर्ने सहमति भएको बताइन्छ ।
मेची भन्सार प्रमुख अर्यालले व्यवसायीका माग र समस्या भन्सार विभाग समक्ष पेस गरिदिने बताएका पत्रकार बिनोद पाण्डेले जनाएका छन्।
एमआरपी प्रकाशित नगरेकै कारण काठमाडौंमा दुई व्यवसायी फर्ममाथि ५०/५० हजार जरिवाना गरेको घटनाको पनि झापाका व्यवसायीले विरोध गरेका छन् । त्यसविरुद्ध न्याय माग्दै अदालतमा मुद्दा दायर गर्ने व्यवसायीले बताए ।
नेपालमा आयात हुने मार्बल, ग्रेनाइट र टायल्स अधिकांश भारतबाट र केही तेस्रो मुलुकबाट आयात हुने गरेको छ । उक्त वस्तु लोड हुँदादेखि गाडी भाडा, टुटफुट केही नहेरी प्रतिकेजी नौ रुपैयाँ दरको भन्सार शुल्क, कारोबार भए १३ प्रतिशत भ्याट, अनलोड खर्च, एजेन्ट खर्च, उपभोक्ताको घरसम्म सेवा दिनुपर्ने र बढी भएको सामान पुनः उठाएर पनि ल्याउनुपर्नेसम्मको झन्झट र अप्रत्यक्ष खर्चको मारमा व्यवसायी रहेको त्यस क्षेत्रका व्यवसायीहरुले गुनासो गरेका छन् ।
व्यवसायीले झन्झट व्यहोरे पनि त्यसको आर्थिक भार भने अन्तिममा उपभोक्ताले नै व्यहोर्नुपर्ने बाध्यताका कारण आफूहरु उपभोक्ता हितका लागि प्रतिबद्ध रहेकैले यो आवाज उठाएको उनीहरु बताउँछन् ।
हरेक गाडी मार्बल, ग्रेनाइट र टायल्सको एमआरपी वस्तु टुटफुटको आधारमा अनलोडपछि मात्र निर्धारण गर्न सकिने र यो हरेक पटक फरक–फरक हुने व्यवसायी बताउँछन् । हरेकपटकको आयातमा २० देखि २५ प्रतिशत मार्बल, ग्रेनाइट र टायल्स टुटफुट हुने गरेको व्यवसायीको भनाइ छ ।
Comments