Sajhamanch Archive

मदन भण्डारी लोकमार्ग र त्यसको औचित्य

Published: in विचार/ब्लग, by .

केही दिन अघि म सानो गाडीमा चढेर विवाहको सिलसिलामा बिर्तामोडबाट दमकसम्म जाँदै थिएँ । त्यो समयमा मैले महेन्द्र राजमार्गको अवस्थाका बारे अवलोकन, अध्ययन र मनन गर्दै गएँ । राजमार्गमा कार, जीप, मोटरसाइकल, बस, ट्याक्सी, ट्रिपर, ट्रक, ट्याक्टर, अटोरिक्सा, सिटीरिक्सा, रिक्सा, साइकल, राँगा/गोरु गाडा आदि साधन गुडिरहेका थिए । मूल सडकमा शाखा बाटोहरु धेरै भएका कारण बिर्तामोड दमक ३२ किलोकिटर यात्रा गर्न पूरै एकघण्टा लागेको थियो । यो अवधिमा मैले महेन्द्र राजमार्ग अन्तरराष्ट्रिय सडक सञ्जालमा जोडिनु उपयुक्त हुँदैन भन्ने निश्कर्ष निकालेँ । अन्तरराष्ट्रिय वा सार्कमार्ग बन्नको लागि त्यहाँ गुड्ने यातायातका साधनहरुलाई न्यूनतम गति तोकेर यो–यो साधनमात्र कुद्न पाउने भनी सडक कानून बनाएर प्रवेश गर्न दिएमा मात्र त्यो सडक अन्तरराष्ट्रिय स्तरको सडक मार्ग हुनसक्छ भन्ने मेरो बुझाई भएकाले यस्तो निश्कर्ष निकालेको हुँ ।

मैले केही महिना अघि कान्तिपुर दैनिकमा नेपाल सरकारले मदन भण्डारी लोकमार्ग झापाको मेचीनगरमा पर्ने पाटापुर भन्ने स्थानबाट डडेलधुरासम्मको मार्ग र त्यसैसँग समानान्तर हुनेगरी रेल मार्गको अध्ययन सुरु गरेको भन्ने पढेको थिएँ । अब आएर मदन भण्डारी लोकमार्गलाई माथि भनिए जस्तो सडक कानून बनाएर सञ्चालनमा ल्याउने हो भने, सो सडक अन्तरराष्ट्रिय सडक बन्न सक्दछ । अझ त्यो सडकलाई भारतको नक्सलबाडीबाट मेचीनगरको नकलबन्दा भन्दा केही माथि हुँदै कन्चनपुरसम्म नेपाल चुरेहुँदै भारतको दिल्लीसम्म जोड्ने हो र भारत सरकारसँग यही विषयमा केन्द्रित रही वार्ता गर्ने हो भने भारत एक्लैले दुइवर्ष भित्रमै सो मार्ग बनाउन सक्छ । किनकी भारतको नक्सलबाडीभन्दा पूर्व बंगालसहित नौवटा राज्यहरु छन् । त्यहाँका सम्पूर्ण जनतालाई दिल्ली पुग्न सडकमा १० घण्टा र हवाई यातायातमा एक घण्टाको बचत हुन्छ । साथै भारत सरकारको इन्धन, श्रम, समय तथा अर्थमा अत्याधिक बचत हुन जान्छ । जसले गर्दा नेपाल भारत भन्सार व्यवस्थित गरेर पनि नेपालको आफ्नो बजेट बराबरको रकम भारत सरकारले दिनुपर्ने भनी वार्ता गर्न सकिन्छ ।

नेपालले यसरी चुरेबाट बाटो बनाएमा कम मुआब्जा तिर्नुपर्ने हुन्छ भने नेपालको सम्पूर्ण नदीबाट भारतलाई खानेपानी बेच्न सक्दछ । भारत, नेपालको खानेपानी नेपालको चुरेबाट लान चाहन्छ किनकी त्यहाँ नदी धेरै नियन्त्रित, जमिनको सतह माथि र पानी भारतको तुलनामा सफा छ । यसो भएमा नेपालका नदीबाट विद्युत निकाल्न पनि सहज हुन्छ । नेपालमा एउटै नदीबाट पाँचदेखि १० स्थानमा विद्युत निकाल्न सकिने नदीहरु धेरै छन् । यहाँ भारतलाई ‘हाम्रो पानी तिम्रो लगानी, उत्पादित विद्युत आधा आधा पनि’ भनी भारतले लगानी गरेवापत एउटा निश्चित प्रतिशत विद्युत उसलाई दिने र बाँकी नेपालको भागमा परेको विद्युत मध्येबाट आवश्यकताभन्दा बढी भएको विद्युत पनि भारतलाई बिक्री गर्न सकिन्छ । जसले गर्दा प्रशस्त भारतीय रुपैयाँ नेपाल भित्रिन सक्छ भने यसलाई तुरुन्त नेपाल सरकारको तर्फबाट वार्ता गरिहाल्नु पर्दछ ।

हाल चर्चामा रहेको मदन भण्डारी मार्गलाई ४ लेनको द्रुतमार्ग बनाएर देशका विभिन्न सहरहरुबाट सो मार्गमा जोड्ने मार्ग बनाउँदै नेपालको उत्तर दक्षिण मार्गमा आकाशे पूल र केही पहाडहरुमा सुरुङ मार्ग बनाउँदै निजगढ काडमाडौं द्रुत मार्गसँग जोड्ने हो भने झापाबाट काठमाडौं झन्डै ४ घण्टामा यात्रा तय हुन सक्छ । निजगढ पश्चिम पनि त्यस्तै ५/६ घण्टाको दूरी मात्र हुन जान्छ । अब रह्यो महेन्द्र राजमार्ग, यसलाई पनि अहिलेको अवस्थामा आवश्यकता हेरी कहीँ ६ लेन त कतै ४ लेनको बनाएर सम्पूर्ण यातायातका साधनहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्दछ । यसरी द्रुतमार्ग बनाउँदा सडक वरिपरीका भागहरुमा मानिसको बढी भिडभाड हुन नदिनका लागि सडकको उत्तर दक्षिण कम्तिमा ५०० मिटरसम्म घर बनाउन नदिने, भएका घर तथा संरचनालाई पनि क्रमश खाली गर्दै लाने र उनीहरुलाई व्यवस्थित रुपमा अन्यत्र बसोबासको व्यवस्था मिलाउने गर्नुपर्दछ । सडकमा विभिन्न ठाउँमा गोदाम, पेट्रोल पम्प, यात्रुको सुविधाका लागि आवश्यकता अनुसारको होटल तथा चालकहरुलाई विश्रामस्थल निर्माणका लागिमात्र भवन बनाउने गरेमा धेरै जोखिम कम गर्न सकिन्छ ।

अब रेलमार्गको कुरा गरौं, माथि भनिए अनुसार रेलमार्ग बनाएमा दिल्ली–काठमाडौं, काठमाडौं–गुहाटी तथा नेपालको भूभागबाट सिधा दिल्ली–गुहाटी रेल कुदाउने हो भने साँच्चै नेपाली यात्रुको आवश्यकता पूरा हुन्छ । जसले गर्दा प्रशस्त मात्रामा भारतीय रुपैयाँ भित्रिने, भारतीय रुपैयाँ सटहीमा नेपालीलाई सहज हुने, भन्सारलाई व्यवस्थित गरेमा प्रशस्त भारतीय उद्योगको लगानी भित्राएर रोजगारीको सृजना गर्न सकिन्छ । त्यस्तै ती उद्योगले तिर्ने राजश्व पनि अत्याधिक हुने सम्भावना रहन्छ ।

नेपालले त्यस पछि पनि निम्न प्रकारका कार्यहरु गर्न जरुरी रहन्छ । नेपालमा नेपालको मुहार फेर्नको लागि नेपालको एकमात्र अन्तरराष्ट्रिय एयरपोर्टको विकल्पमा निजगढ अन्तरराष्ट्रिय एयरपोर्ट अनिवार्य बनाउनु पर्ने हुन्छ । जसले गर्दा नेपालको राजधानीबाट सुरक्षित एयरपोर्टको दूरी जम्मा एक घण्टामा सहज रुपमा यात्रा हुन्छ ।

नेपाललाई हामी कृषि प्रधान देश भन्छौं । नेपालका सम्पूर्ण कृषिजन्य जमिनहरु बाँझैं छन् । त्यसमा काम गर्ने युवाहरु सबै खाडी मुलुक पुगेका छन् । अब केही रहेका सीमित व्यक्तिहरुबाट अत्याधुनिक प्रविधि तथा साधनको प्रयोग गर्दै खाद्यान्न, तरकारी, पुशपन्छी पालन, दुग्ध उत्पादन आदिमा कृषकहरुलाई प्रोत्साहित गर्दै सम्पूर्ण क्षेत्रको उत्पादनमा वृद्धि गरी देशलाई आत्मनिर्भर तथा निर्यातमुखी बनाउनु पर्दछ । साथै औषधिजन्य उत्पादनमा पनि कृषकलाई त्यतिकै जिम्मेवार बनाउनका लागि नेपाल सरकारले सहयोग गर्नुपर्दछ ।

(लेखक मनकामना कलेज बिर्तामोडका सहायक क्याम्पस प्रमुख हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *