Sajhamanch Archive

नगदेबाली उत्पादनमा रोङका कृषक सक्रिय

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by .

रोङ (इलाम) । इलामको रोङ गाउँपालिका वडा नम्वर ६ का किसान यतिबेला नगदे बालीतर्फ आकर्षित भएको पाइएको छ । अन्नबालीभन्दा नगदे बालीबाट राम्रो आम्दानी गर्न थालेपछि पछिल्लो समय यहाँका कृषक नगदे बालीतर्फ आकर्षित भएका हुन् ।

१० वर्षदेखि काँक्राको व्यवसायिक खेती गर्दै आएका ईन्द्रप्रसाद प्रधान भन्छन्, ‘ अन्न बाली लगाउँदा मुस्किलले वर्षमा १५–२० हजार रुपैयाँ आम्दानी हुन्थ्यो । तर अहिले काँक्रा खेतीबाट वर्षेनी एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेको छु ।’

सो ठाउँका अधिकांश किसानले अहिले काँक्रा, अकबरे खोर्सानी, सिंवी, काउली लगायतका सागसब्जी खेती गर्न थालेका छन् । अर्की किसान अनिता गुरुङ्ग पनि अन्न बालीभन्दा नगदे बाली अन्तर्गत अकबरे खोर्सानीबाट मनग्य आम्दानी गरिरहेको बताउँछिन् ।

अन्नबाली लगाउँदा वर्षभरि खान पुग्ने उब्जनी गर्न धौधौ पर्ने किसानले नगदेबालीबाट राम्रो आन्दानी गर्न थालेपछि यहाँका धेरै कृषक यसतर्फ लागेका अर्का कृषक श्याम आचार्य बताउँछन् ।

उत्पादन पनि छिटो हुने र आम्दानी पनि राम्रो हुने भएकाले नगदे बालीतर्फ कृषकको आकर्षण बढेको हो, कृषक आचार्य प्रष्ट पार्छन् ।
आफ्नो उत्पादनको बजारमा माग बढेसँगै कृषक आफूले लगाएको बालीप्रति थप जिम्मेवार भएको पनि पाइएको छ । कसरी उत्पादन बढाउने, रोग किराबाट मुक्ति पाउन के गर्ने अनि आग्र्यानिक उत्पादन कसरी गर्ने भनी आफूहरु विभिन्न ठाउँमा अध्ययन अवलोकन भ्रमणमा जाने गरेको अर्का कृषक युवराज प्रधानको भनाई छ ।

उनीहरुले आफ्नो उत्पादन बढाउन तथा गुणस्तरमा वृद्धि गर्न पछिल्लो समयमा तालिमसमेत लिन थालेका छन् । तालिम तथा अवलोकन भ्रमणबाट यहाँका अधिकांश कृषकको मन कृषि उत्पादन बढाउने र आम्दानी गर्नेतर्फ निकै आकर्षण बढेको पाइएको हो ।

तर अर्कोतर्फ कृषकले चाहेको बेलामा आवश्यक पर्ने मल र विऊ चाहिँ पर्याप्तमात्रामा पाउन सकेका छैनन् । यहाँका कृषकको अग्र्यानिक उत्पादनलाई बिचौलियाको चंगुलबाट मुक्त गराउन पनि नसकिएको ती किसानको गुनासो छ । यसका लागि स्थानीय सरकारले बेलैमा ध्यान दिन सके कृषक र उपभोक्ता ठगिने थिएनन् कि !

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *