Sajhamanch Archive

आभासँग बालापन सिक्दै रमाउँदै

Published: in विचार/ब्लग, शिक्षा, समाज, by .

अहिलेका बच्चा कसरी हुर्कदैछन् भन्नुभन्दा पहिला हामी कसरी हुर्कियौं भन्ने कुरातिर अलिकति चर्चा गरौं । म कक्षा चारको मौखिक परीक्षामा उपस्थित भएको थिएँ । शिक्षकले स्कूल किन आउँछस् भनेर सोधे । मैले पढ्न, लेख्न भनें । फेरि सोधे, फेरि त्यही दोहोर्याएँ । पाठ्यपुस्तकमा चाहिँ पढ्न, लेख्न र खेल्न भनेको रहेछ । शिक्षकले मबाट पूर्ण उत्तर चाहेको कुरा पछिमात्र थाहा भयो । तर स्कूलमा खेल्न पनि जाने हो भनेर कसरी सरलाई भन्नु र ! हामीले बच्चा हुँदा अभिभावकबाट सिकेको कुरा भनेको खेल्नु भनेको बरालिनु, समयको बर्बाद गर्नु हो । खेलेको थाहा पाएछन् भने कुटाई खानु, गाली खानु स्वभाविक थियो । अर्थात् खेल्नु हुँदैन भनेर सिकाइयो । बस्तु चराउन जाँदा ढुंगाका राम्रा गोटी छानेर खेलिन्थ्यो । ती गोटी लोभलाग्दा हुन्थे । भोलिका लागि चाहिन्छ भनेर घरमा ल्याइन्थ्यो । तर ती आमाबुबाबाट लुकाएर राख्नु पथ्र्यो ।

मोजामा झुम्रा ठोसेर गोल खेल्ने पुस्ता हो हाम्रो । स्कूलमा एक दिन खै कसले हो पुरानो फुटबल ल्याएछन् । स्कूल छुट्टी भएर सबै शिक्षक घर गएपछि हामी केही विद्यार्थी भेला भएर फुलबल खेल्दै थियौं । एकजना शिक्षक आइपुगे । हाम्रो भागाभाग भयो । भोलिपल्ट अफिसमा बोलाएर किन खेलेको भनेर हकारेका मात्रै होइनन्, कुटाई पनि खाइयो । मैले त्यो दिन हरियो सुरुवाल लाएको रहेछु । त्यो हरियो सुरुवाल लाउने पनि थियो भनेर बजाए । म थिइँन भन्नै पाइन । हरियो सुरुवाल प्रमाण बन्यो ।

घरमा रहरले कुनै काम गर्न पाइँदैन थियो, तर करले नसक्ने काम नगरी धरै पाइँदैन थियो । घरका अरु ठूला मानिसले गरेको काम देखेर गर्न खोज्दा गाली सिवाय केही हुँदैन थियो । थप पाट्टपिट्ट त सामान्य नै हुन्थ्यो । काम बिगारेको, काम बढाएको, नसक्ने काम गर्न तम्सिएको, सक्ने काम नगरेको जस्ता कुरा सुनिरहनु पर्ने समय थियो । सायद अहिले पनि धेरै घरपरिवारमा छ ।

अलि ठूलो भएपछि पढ्न पठाइयो । पढ्नु भनेको अक्षर चिन्नु, किताबमा लेखेको फरर पढ्न सक्नु, शिक्षकले सोधेका कुराको जवाफ दिन सक्नु, परीक्षामा धेरै नम्बर ल्याएर पास गर्नु मात्र थियो । हामीले पढेर के सिक्यौं, के जान्यौ भन्ने कुरा महत्वको भएन । त्यसैले पढ्नु भनेको पास गर्नु हो, जान्नु होइन भनेजस्तो भयो । अहिलेसम्म पनि हामी यही मानसिकतामा छौंभन्दा सायद फरक पर्दैन ।

आफू सानो छँदा स्कूलमा सिकेका अर्थात् पास हुन सिकेका कुराले जीवन चलाउन केही मद्दत त गर्यो । तर त्योभन्दा धेरै व्यवहारबाट सिकेका कुराले जीवन चलाउन सहयोग गरेको अनुभव गरेको छु । मैले घाँस दाउरा गर्न, बस्तु चराउन, हलो कोदालो गर्न, आँठापाँजा भात पकाउन, लुगा धुन, भाँडा धुन, घर सफा गर्न सिकेँ । बाली बिरुवा लगाउन, गोडमेल गर्न, बाली उठाउन, थन्क्याउन, गाईबस्तुको हेरचाह गर्न आदि कामले घरमा सघाउ पुगेको थियो । र, मैले पनि जीवन जिउन सिकेको अनुभव गरेको छु ।

छिमेकी, आफन्तसँग कसरी बोल्ने, अर्मपर्म, अ‍ैंचोपैचो र लेनदेनमा कस्तो व्यवहार गर्ने, समाजमा कसरी आफूलाई प्रस्तुत गर्ने पनि सानै उमेरमा जान्न बुझ्न पाएँ । के भयो भने समाजले राम्रो मान्छ र के भयो भने समाजले आफ्नाले राम्रो मान्दैनन् भन्ने कुरा मैले समाजबाट र घरबाटै सिकें । जीवन चलाउन पैसा चाहिन्छ र पैसा कसरी आउँछ, कसरी कमाउने, कसरी जोगाउने, कसरी खर्च गर्ने, ब्याज के हो, सावाँ के हो, नाफाघाटाको कुरा, ऋणधनको कुरा, लेनदेनको कुरा मैले व्यवहारमा सिकें ।

मेरो आफ्नै कुरा गर्दा स्कूलमा पढेको पास हुनलाई, प्रमाणपत्र पाउनलाई र गाउँघर र समाजमा सिकेको जीवन चलाउनलाई रहेछ भन्ने बोध धेरै पछिमात्र भयो । मेरा छोराछोरीको बालापन कसरी बित्यो ? मैले नढाँटी भन्दा थाहा नै पाइन । बेवास्ता गरेको होइन, तर जीवन चलाउने संघर्ष गर्दागर्दै समय बितेछ, छोराछोरी हुर्किए । छोराछोरीलाई आफूले सकेको राम्रो स्कूलमा नाम लेखाउने, स्कूलले मागेको शुल्क तिरिदिने, लुगा, जुत्ता, टाई, किताब कापी किनिदिने गरिन्थ्यो । यति भएपछि धेरै गरियो जस्तो लाग्थ्यो । छोराछोरीले परीक्षामा कति नम्बर ल्याएछन् भनेर रिजल्ट आएको बेला हेर्ने, सही गरिदिने र धेरै नम्बर ल्याएछन् भने मख्ख पर्ने गरियो ।

आफन्त, छिमेकी, चिनजानका मानिसलाई मेरा छोराछोरीले यति नम्बर ल्याए भनेर प्रसंग झिकेर गफ हाँकियो । तर, उनीहरुले के सिके, कसरी सिक्छन्, कहाँबाट सिक्छन्, सिकेका कुराको अर्थ के छ भनेर कहिल्यै खोजी गरिँन । मलाई लाग्थ्यो धेरै नम्बर ल्याएर पास गरेपछि जीवन रोजेको जस्तो हुन्छ, खोजेको जस्तो हुन्छ । आज पनि धेरै नम्बर ल्याउन र पास हुन जे जे गर्नुपर्छ स्कूलले त्यही गरिदिन्छ, विद्यार्थी जसरी पनि धेरै नम्बर ल्याउने र पास हुने ध्याउन्नमा छन् । किनकि अझै मलाई भएजस्तो भ्रम धेरैमा छ ।

अहिले घरमा पाँच वर्षकी नातिनी आभा छ । नातिनीका साथी छन् । बच्चाको बालापनको बारेमा बुझ्ने र हेर्ने दृष्टिकोणमा परिपक्क बन्दै गएको छु भन्ने लाग्छ । नातिनीको स्वास्थ, सुरक्षा, सिकाई र खुसीमा परिवारमा सबैले चासो राख्छौं । विशेष गरी म उबाट धेरै कुरा सिकिरहेको छु । मैले साना नानीहरुको स्वभावलाई बुझ्ने अवसर पाएको छु । उनीहरुको रुची, सिकाई, रोड्याईं, खुसी यी सबैलाई एकदमै नजिकैबाट महसुस गर्ने र प्रयोग गर्ने अवसर पाएको छु । उसको उमेरको आधारमा स्कूलले धेरै गृहकार्य (होमवर्क) दिएको महसुस भएको छ । स्कूलमा अलिकम गृहकार्य दिन अनुरोध नगरेको पनि होइन, तर अरु धेरै अभिभावकले होमवर्क धेरै दिनु, होमवर्क नभए पढाएको जस्तो नै ठान्दैनन् भने पछि हामीले केही बोल्ने अवस्था रहेन । नातिनी सबै गृहकार्य गर्छे । यो उसको पहिलो प्राथमिकतामा पर्छ । गृहकार्य सक्ने बित्तिकै उसको रुचीको खेलमा मस्त हुन्छे ।

उसले खेल्ने तरिका अनेक छन् । कहिले कुचो लिएर आँगन बढार्छे । कहिले भुईंमा पोचा लगाउँछे । बाथरुम सफा गर्छे । भान्सामा पिठो मुछ्ने, रोटी बेल्ने, पानी भर्नेजस्ता काम अरुसँगै गर्न मन पराउँछे । ठूला मानिसको अभिनय गरेर साथीहरुसँग खेल्छे । उसकी मिल्ने साथी सदिक्षासँग उनीहरु काम बाँढ्छन् । कहिले सदिक्षा पसले हुन्छे, कहिले आभा । उनीहरु भाँडाकुटीको खेलौनामा खाजा बनाई खेल्छन् । हामीसँग खाजाको अर्डर लिन आउँछन् । मोमो, चाउमिन, चिउरा, चाउचाउ, चिया ल्याएर दिन्छन् । तातो छ सेलाएपछि खानु है भन्छन् । यो बेला उनीहरुलाई आण्टी भनिदिनु पर्छ । पैसा दिनुपर्छ । हामी मिठो मानेर खाइदिन्छौं ।

कहिले उ स्कूलकी मिस हुन्छे, हामीलाई पढाउन थाल्छे । यताउता हेर्ने होइन, गफ गर्ने होइन, यहाँ सुन्ने, मैले जे भन्छु त्यही भन्ने भनेर उसले सिकेको कुरा भन्छे । हामीले दोहोर्याउनु पर्छ । एकदमै रमाइलो लाग्छ मलाई । फूलबारीमा सँगसँगै काम गर्न जान्छे । गमलामा पहिला उसले पानी हाल्नुपर्छ । झार उसले पनिसँगै उखेल्नु पर्छ । यसोगर्दा अलिअलि तलमाथि त पर्छ तर सम्झाउनु पर्छ । गाली गर्नु हुँदैन भन्ने लागेर त्यसै गर्छौं । मैले कम्प्युटर खोलेर चलाउन थालेपछि उसले पनि किबोर्डमा हात चलाउन पाउनु पर्छ । म उसलाई रोक्दिन । गर्न दिन्छु । मनलागि चलाए पछि लु अब तपाई गर्नु भन्छे ।

नातिनी आभालाई स्कूल पठाएको शुरुको वर्ष (नर्सरी र एलकेजीमा हुँदा पनि) घरको भित्ता कोरेर कुरुप बनाएकी थिई । उसलाई मैले गाली गरिन र अरुलाई पनि गाली गर्न दिइँन । पछि घरमा रंगरोगन गर्ने बेलामा उसलाई सोधें नानी अब घरमा रंग लगाउँ । उसले त्यो बेलामा कोर्न छाडेकी थिई । तर फेरि नकोर्ली भन्ने थिएन । भित्ता कोर्न किन छाडेकी थिई भने त्यहाँ कोर्ने ठाउँ नै थिएन । उसले रंग लाउनु अब कोर्दिन भनी । यस्तै ३–४ वर्षकी हुँदो हो । घरमा रंग लगायौं । त्यसपछि उसले कहिल्यै भित्ता कोरेर कुरुप बनाइन । वास्तवमा यो उसको सिकाई थियो । स्कूलमा मिसले बोर्डमा लेखेको देखासिकी थियो ।

एकपल्ट उ निकै सानै हुँदा सायद डेढ–दुई वर्षकी हुँदी हो, मोवाइल फोन कानमा राखेर घुमीघुमी कुरा गरेजस्तो गरी । हामी सबै अचम्म परेर रमाइलो मानिरह्यौं । निकै बेरपछि उसले फोन राखीदिई । उसले किन यसोगरी भन्ने मेरो मनमा खुल्दुली परिरहेको थियो । यो उसले हामीले गरेको व्यवहारबाट सिकेकी रहिछ । उसको बाबा (छोरा राजु) धेरै र म पनि यसरी फोनमा हिँडेर गफ गर्दारहेछौं । योभन्दा पनि सानो उमेरमा एकपटक उसले लेण्डलाइनमा रहेको टलिफोन चलाएर दिक्क लगाई । सायद त्यो रिसिभरमा आउने टु…..को आवजमा उ रमाइलो मानिरही थिइहोला । तर रिसिभर ठिकसँग नराख्ने भएकाले उसलाई नगर्न भन्यौं । मानिन । त्यसपछि रिसिभरको कनेक्सन प्लगबाट छुटाएर फोन चलाउन दिएको थिएँ । रिसिभरमा टु…..को आवाज नआउने वित्तिकै उसले मैले प्लगमा छुटाएको कनेक्सन जोडन थाली, उ सफल हुन सक्ने कुरा भएन । त्यसपछि जोडिदिन इसारा गरी । हाँसेर रमाईलो मान्दैथियौं । उ रिसाएर कराउन थाली । कनेक्सन जोडिदिए पछि खुसी भएर खेल्न थाली ।

खाने कुरामा पनि अरु बच्चा जस्तै उसको रोजाई गुलियो र जंक फुडमा हुन्छ नै । दिँदै नदिने गरेनौं । तर दिँदा यो खान राम्रो होइन । दाँतमा किरापर्छ । भुँडी दुख्छ । धेरै खानु हँदैन भनेर सम्झाउने गरिरह्यौं । अहिले उ आफैँ धेरै खानु हुँदैन अलिअलि खाँदा हुन्छ भनेर अरु साथीलाई सम्झाउने भएकी छ । कहिले काहीँ जिद्दी गरेरै यस्ता खाने कुरा माग्छे, खान्छे । छेउमा बसेर नानीले नराम्रो खानेकुरा धेरै खाई भनेर सम्झाउँछौं । उसले भनाईलाई स्वीकार गरेर फेरि धेरै समयको फरकमा मात्रै यस्तो खाने कुरा माग्छे र भन्छे तपाईंलाई थाहा हुनुपर्छ नि मैले कति भयो नमागेको ।

आज पनि हामी बच्चाका कुरालाई बेवास्ता गर्छौं । उनीहरुले सबैभन्दा धेरै सिक्ने भनेको घरबाट हो । अभिभावकबाट हो । साथी र समाजबाट हो । खेलेर, गरेर सिक्ने हो । तर हामी उनीहरुलाई पाइला पाइलामा यो नगर, त्यो नगर, तिमी सानै छौ, तिमीले जान्दैनौ । साना मानिसले गर्नु हुँदैन, बिगार्छौं भनेर उनीहरुको सिक्ने चाहना र सिकाईलाई रोकिरहेका हुन्छौं । केही गर्ने आँट र मनोबल घटाई रहेका हुन्छौं ।

बच्चाहरु कुनै नयाँ कुरा सिक्ने बित्तिकै सुनाउन चाहान्छन्, देखाउन चाहान्छन् । तर हामी त्यसलाई पूरै बेवास्ता गरिरहेका हुन्छौं । एकपटक म प्रदेश सांसद माननीय श्रीप्रसाद मैनालीको घरमा गएको थिएँ । त्यहाँ मेरी नातिनी कै उमेरकी उहाँकी पनि नातिनी छन् । उनलाई मैले मायालु पाराले बोलाएँ । उनी शुरुमा केही हच्किए पनि बुबा पो त भनेपछि नजिक भइन् । उनले तुरुन्तै कोठामा पसेर उनले लेख्ने गरेको कापी ल्याएर मेरो अगाडि बसेर पल्टाउन थालिन । उनले आज कुनै नयाँ अक्षर लेख्न जानेको दिन हुनुपर्छ भन्ने अनुमान लगाएँ र मायालु पाराले लेखेको देखाउन भनें । रुचिपूर्वक हेरी दिएँ । प्रशंसा गरें । उनी एकदमै खुसी भएर सोफामा उफ्रिन थालिन् ।

स्कूलका किताबमा बच्चाले सिक्ने कुरा वास्तवमा धेरै हुँदैन । उनीहरुले परिवार, समाज, खेल, दृश्य, गराई, सुनाई, व्यवहार आदिबाट धेरै कुरा सिक्न सक्छन् । ती कुरा जीवन उपयोगी पनि हुन्छन् । बच्चालाई यसका लागि धेरै समय नै हुँदैन । स्कूल, ट्युसन, गृहकार्य, आउने जाने समयमै समय सिद्धिन्छ । आजका बच्चाबाट अभिभावकले खेलेर गरेर सिक्ने, साथी, परिवार र समाजसँग घुलमिल भएर सिक्ने समय खोसेको महसुस हुन्छ । स्कूलको अब्बल विद्यार्थी बनाउने धुनमा एकलकाँटे (सिमित कुरामात्रै सिकेको) सन्तान बनाउँदै छौं । अझ व्यस्त भएको बहानामा, व्यवसायको बहानामा, आप्mनो मनोरञ्जनका लागि बच्चालाई स्कूलको जिम्मा लगाएर पैसा मात्रै तिरिदिएर कर्तव्य पूरा भएको मान्नु र स्कूलले सबैथोक सिकाइदिन्छ भन्ने ठान्नु पूरै गलत हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *