Sajhamanch Archive

मिक्लाजुङ हत्याकाण्डमा ज्वाईंकै संलग्नता !

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

पाँचथर । गए राति ९ जनाको हत्या भएको मिक्लाजुङ–३ आरुबोटे नजिकै एकजना युवाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । आरुबोटेमा रहेको ३ नम्बर वडा कार्यालय छेउमा ९ जनाको विभत्स घटना भएसँगै एक अधवैशे झुण्डिएको अवस्थामा फेला पर्नुले घटना रहस्यमय बन्दै गएको हो ।

सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अनुसन्धानले संदिग्ध व्यक्तिको रुपमा देखाएका मानबहादुर मोखिमको शव मिक्लाजुङ ८, लुमाङ्दिनमा झुण्डिएको अवस्थामा भेटिएको छ।

अनुसन्धान टोली स्रोतका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएका मोखिम मृतक फियाक परिवारका ज्वाइँ हुन् । प्रहरी अधिकृतहरुका अनुसार मोखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । ‘श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन्’, स्रोतले भन्यो ।

घटनामा बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया पनि मोखिमकै थियो ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले पनि घटनामा एकजनाको मात्रै संलग्नता हुनसक्ने देखिएको बताए । उनले भने, ‘हामी अहिले शव भेटिएको स्थलतिर जाँदैछौं तर, शव भेटिनुअघि नै उनी संदिग्ध रुपमा हाम्रो दायरामा आएका व्यक्ति हुन् ।’

धनराज शेर्माको ५ जनाको सिङ्गो परिवार र मनकुमार फियाकको ४ जनाको हत्या भएको छ । तर ९ जनाको विभत्स हत्या भएको स्थानबाट केही किलोमिटर पर मिक्लाजुङ वडा नं. ८ मा मानबहादुर माखिमको शव भेटिएको हो ।

प्रहरीका अनुसार ९ जनको हत्या भएको घटनास्थलबाट पैदल हिँड्दा करिब डेढ–दुई घण्टाको दूरीमा झुण्डिएको शव भेटिएको हो ।

माखिमको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । यद्यपि, घटनामा उनको कुनै संलग्नता थिय÷थिएन भन्ने विषय चाहिँ खुलेको छैन ।

अनुसन्धान संलग्न प्रहरीले दुवै घटनालाई जोडेर अनुसन्धान थालेको जनाइएको छ । घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र प्रदेश १ प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरिक्षक नेतृत्वमा प्रहरी पुगेको घटनास्थलबाट स्थानीयले बताएका छन् ।

तालिम प्राप्त कुकुरलाई पनि अनुसन्धानका लागि प्रयोगमा ल्याइएको छ भने जिल्लाका सम्पूर्ण नाका सिल गरिएको छ ।

घटनामा ३ महिला र ६ जना पुरुषको हत्या भएको छ । झुण्डिएको युवक भेटिनुले सामुहिक हत्या घटना थप रहस्यमय बनेको स्थानीय बासिन्दाको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *