Sajhamanch Archive

विजयोत्सवको तयारीमा भाजपा !

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

नयाँदिल्ली । विभिन्न मत सर्वेक्षणले लोकसभा चुनावमा सत्तारुढ घटक विजयी हुने संकेत गरेपछि भारतीय जनता पार्टी (भाजपा)का कार्यकर्ता मे २३ मनाउने तयारीमा जुटेका छन्।

भाजपा मुख्यालयमा मे २३ का लागि तयारी गरिरहेका छन्। कंग्रेस मुख्यालयमा पनि विगतमा भन्दा राम्रो स्थान हासिल गर्ने भन्दै प्रतीक्षा गरिरहेका छन्।

भाजपा कार्यकर्ताले आफूहरू किनै खटिएको र विजयी हुनेमा पहिलेदेखि नै विश्वस्त भएको बताएका छन्। भाजपाका मिडिया हेर्दै आएका जितेन्द्र रावतले भने, ‘हाम्रो पूरा ध्यान चुनावमा केन्द्रित थियो र सबैको बिदा स्थगित गरिएको थियो। हामी चौबीसै घण्टा खटिएका थियौं। आशा छ, हामीले ३ सयभन्दा बढी सिट जित्नेछौं।’

६ वर्षकै उमेरमा राष्ट्रिय स्वयंसेवकमा आबद्ध भएको बताउने भाजपाका कार्यकर्ता ६३ वर्षीय कृष्ण चंद वंसलले आफूहरू लामो समयदेखि खटिएको बताए।

यसैबीच कंग्रेस मुख्यालय भने अपेक्षाकृत शान्त देखिएको छ। उनीहरूले नरेन्द्र मोदीको पुनः सरकार बन्नेमा आशंका व्यक्त गरेका छन्। उनीहरूले सर्वेक्षणहरू भाजपाको अफवाह भएको पनि दाबी गरेका छन्। कंग्रेस कार्यकर्ता राम सिंहले भने, ‘हामीले निकै सिट जित्नेछौं। मतदानमा प्रयोग गरिएको ईभीएम मेसिनमा बदमासी गरिएन भने हामी जित्छौं।’ कंग्रेसका केही कार्यकर्ता भने सरकार बनाउन नसके पनि २०१४ को भन्दा राम्रो प्रदर्शन गर्ने बताएका छन्।

त्यतिखेर कंग्रेस ४४ सिटमा विजयी भएको थियो। भारतका टाइम्स नाउ–वीएमआर, न्यूज १८ आईपीएसओएस, इन्डिया टुडे–एक्सिस और न्यूज २४–चाणक्यका अनुसार भाजपाले ३ सयभन्दा बढी सिट जित्ने बताएका छन्।

‘मतसर्वेक्षणको नतिजा गलत’

भारतीय कंग्रेस पार्टीका वरिष्ठ नेता शशि थरुरले चुनावी मतसर्वेक्षणका प्रक्षेपण गलत रहेको भन्दै त्यसलाई अस्वीकार गरेका छन्। उनले आगामी बिहीबार सार्वजनिक हुने मतगणनालाई मात्र विश्वास गर्न सकिने बताए। ‘चुनावी मतसर्वेक्षण सबै गलत रहेको मेरो बुझाइ छ। गतसाता अस्ट्रेलियामा सम्पन्न ५६ विभिन्न मतसर्वेक्षण सबै गलत सावित भएका थिए। भारतमा पनि धेरै मानिसले सर्वेक्षकलाई सबै कुरा बताउँदैनन्।

वास्तविक परिणाम बिहीबार मात्र थाहा हुनेछ,’ थरुरले भने। थरुरझैं धेरैजना विपक्षी नेताले मतसर्वेक्षणका नतिजाप्रति आपत्ति जनाएका छन्। नेसनल कन्फ्रेन्सका नेता ओमर अब्दुल्लाले टिभी र सोसल मिडिया बन्द गरेर बिहीवारको दिनलाई पर्खनु बुद्धिमानी हुने बताए।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले पनि चुनावी मतसर्वेक्षणले आम मानिसको भावनालाई समेट्न नसकेको भन्दै गुनासो गरेका छन्। उनले हरेक पटकका मतसर्वेक्षण सही नभएका र धरातलीय यथार्थबाट टाढा रहेको दाबी गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *