राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको छनौट मिति तय
Published:
by .भद्रपुर । झापा जिल्लास्तरीय ११औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले स्थानीय तह र जिल्लास्तरीय छनौट प्रतियोगिताको मिति तय गरेको छ ।
मंगलबार समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा बसेको बैठकले जिससबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितासँगै सञ्चालन हुने क्रिकेट र फुटबल प्रतियोगिताका लागि १० लाख रुपैयाँ रकम निकासा गर्ने प्रतिवद्धता समेत आएको छ ।
जिल्ला खेलकुद विकास समितिको कार्यालयमा भएको बैठकले प्रतियोगिता सम्पन्न गर्न अनुमानित प्रस्तावित बजेटका सम्बन्धमा छलफल गरी राष्ट्रिय खेलकुद परिषद्मा पेश गर्ने निर्णयसमेत गरेको छ ।
यही जेठ २५ गतेसम्ममा स्थानीय तहस्तरीय र जेठ ३२ देखि असार २ गतेसम्ममा जिल्लास्तरीय छनौट प्रतियोगिता सम्पन्न गर्ने निर्णय भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले बताए ।
जिल्लास्तरीय छनौट प्रतियोगिता मेची रंगशाला भद्रपुरमा सञ्चालन हुने र प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्षमुनीका विद्यार्थीहरुले भाग लिने बताइएको छ ।
प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु खेल विधामा छात्रछात्राहरुको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीले जानकारी दिए ।
जिल्लाका १५ वटा स्थानीय तहमा हुने छनौट प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने टिमले जिल्लास्तरीय छनौट प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।
Comments