मिडिया काउन्सिल विधेयक सच्याउन वामदेवको आग्रह
Published:
by .काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले मन्त्रिपरिषद्बाट पारित भई राष्ट्रियसभा सचिवालयमा दर्ता गराइएको मिडिया काउन्सिल सम्बन्धी विधेयकका विवादास्पद प्रावधानप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
आज प्रेस विज्ञप्ती जारी गरेर उनले भनेका छन्, ‘विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरुप बनाउनुपर्ने आवश्यकता मैले देखेको छु । सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्यादित र अनुशासित हुनुपर्दछ भन्ने विचारसँग म पूर्ण सहमत छु । तर, समाचार लेखेकै आधारमा पत्रकारलाई दश–दश लाख रुपैयाँसम्म जरिवाना गर्नेजस्ता कठोर प्रावधान उचित लाग्दैन ।’
समय समयमा पेशाको मर्यादा र भावना कुल्चिएर गरिने पत्रकारिता (पीत पत्रकारिता) बाट आफैं शिकार हुँदै आएको जनाउँदै नेता गौतमले स्वतन्त्र प्रेस र व्यवसायिक पत्रकारिता लोकतन्त्रका खम्बा भएको स्वीकार्न सरकारलाई आग्रह गरेका छन् ।
प्रेस विज्ञप्तीमा भनिएको छ, ‘बोल्न नसक्नेहरुका प्रतिनिधि तथा समाजका पहरेदार र ऐना पनि स्वतन्त्र पत्रकार भएकाले प्रेसलाई चौथो अंगको रुपमा स्वीकार गरिएको हो । प्रेस, व्यवसायिक पत्रकार र सञ्चारकर्मीहरुलाई स्वतन्त्र, निष्पक्ष, निर्भिक एवम् सुरक्षित वातावरणमा काम गर्ने अवस्था राज्यले निर्माण गर्नुपर्दछ ।
तसर्थ, हाल राष्ट्रिय सभा सचिवायलयमा रहेको उक्त विधेयकका विवादास्पद प्रावधानहरु सञ्चार क्षेत्रका जिम्मेवार एवं सरोकारवालासँग छलफल गरी टुंगो लगाउन र अहिलेकै अवस्थामा अघि नबढाउन म नेपाल सरकार, सम्बन्धित सरकारी निकायलगायत सम्बन्धित सबैमा आग्रह गर्दछु ।’
उनले सरकारलाई सँगै सिङ्गो सञ्चार क्षेत्रलाई पनि भनेका छन्, ‘कुनै पनि व्यक्तिको चरित्र हत्या हुने, बदलाको भावनाले परिचालित हुने र राष्ट्रिय हितलाई वेवास्ता गर्ने क्रियाकलाप सञ्चार क्षेत्रमा प्रकट हुन नदिन सबै जिम्मेवार सञ्चारकर्मी मित्रहरुलाई पनि हार्दिक अनुरोध गर्दछु ।’
Comments