Sajhamanch Archive

कनकाईका सीमान्तकृत र विपन्नलाई सीपमुलक तालिम

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

बिर्तामोड । नारी कल्याण समाज झापाले आजदेखि कनकाई नगरपालिकाको सुरुङ्गामा साढे तीन महिने व्यवसायिक तालिम सञ्चालन गरेको छ ।

गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोग कनकाई नगरमा बसोबास गर्ने ६८ जना सीमान्तकृत र विपन्न नागरिकलाई स्वरोजगार बन्ने तालिम दिन थालिएको समाजका अध्यक्ष प्रेमा भट्टराईले बताएकी छन् ।

सो तालिम अन्तरगत मोवाइल मर्मत गर्ने, एसी र फ्रिज मर्मत गर्ने, ब्युटी पार्लर कोर्स, एड्भान्स टेलरिङ तथा मार्वल र टाइल्स फिटिङको प्रशिक्षण सुरु गरिएको हो ।

सो तालिम आयोजना गर्नुको औचित्य बारे गुड नेवर्स इन्टरनेशनलका वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा जेठाराले प्रकाश पारेका थिए । जेठाराका अनुसार गुड नेवर्सको ३८ लाख रुपैयाँ वित्तीय सहयोगमा सञ्चालित तालिमबाट प्रशिक्षार्थीले स्वरोजगार बन्ने खालका सीप सिक्ने अवसर पाउने छन् ।

तालिम उद्घाटन गर्दै झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले अति विपन्न र सीमान्तकृत वर्गको आर्थिक उत्थानका लागि सुरु गरिएको यस प्रकारको तालिम अन्य स्थानीय तहमा पनि विस्तार गर्न आवश्यक रहेको बताए ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरलाई समृद्ध बनाउन यस्तो तालिमले सहयोग गर्ने अपेक्षा राखे ।

समाजका संस्थापक अध्यक्ष कमला उप्रेतीको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा नगर उपप्रमुख मञ्जु प्रसाईं, वडा नं. २ का वडाध्यक्ष पर्शुराम गिरी, समाजका सदस्य हर्कमाया विकलगायतले आफ्ना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *