गणतन्त्र सामाजिक रुपान्तरणको व्यवस्था : प्रम ओली
Published: (Updated: )
by .काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताएकका छन् ।
गणतन्त्र दिवस २०७६ को अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘विकासका लागि हाम्रो प्रस्थानविन्दू सबैलाई खाद्य व्यवस्था, सबैलाई आवास र कपडा, सबैलाई शिक्षा र सबैलाई स्वास्थ्य एवम् सुरक्षा हो ।’
प्रधानमन्त्रीले आफ्नो सन्देशमा “जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प हामीले लिएका छौं । यस संकल्पलाई सार्थक बनाउने सरकारको दृढ उद्देश्य छ । त्यसका लागि विभिन्न, पेशा, क्षेत्र, व्यवसायका नेपालीको बलियो साथ रहनेछ भन्ने मेरो विश्वास छ’ उल्लेख गरेका छन् ।
गणतन्त्र दिवसले नेपालीहरुलाई गणतन्त्र र जनप्रतिनिधित्वको व्यवस्थाप्रति गौरव गर्न झक्झक्याएको उल्लेख गर्दै प्रधानमन्त्रीले शुभकामना वक्तब्यमा ‘गणतन्त्र दिवसले गणतन्त्रको मर्यादा, गणतान्त्रिक संस्थाहरुको मर्यादा र गणतान्त्रिक प्रक्रियाको अवलम्वन गर्न सिकाएको’ उल्लेख छ ।
प्रधानमन्त्री ओलीले जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास, समृद्धि, सुशासन एवम् स्थिरता सरकारको मुख्य गन्तव्य भएको शुभकामनामा उल्लेख गरेका छन् ।
“हाम्रो ध्येय गरिबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचार विरुद्ध केन्द्रित छ । गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन् । त्यसैले सुशासन र विकास आज हाम्रा प्राथमिकता हुन्” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् ।
Comments