काफ्ले परिवारबाट सांस्कृतिक परिवर्तनको शंखघोषः घरभित्रै कोइरालाको काजकिरिया !
Published:
by .अर्जुनधारा । रगतको साइनो कोही कसैसँग नहुँदा पनि मानवीयताका धनी अर्जुनधारा ६ लक्ष्मीपुरका काफ्ले परिवारले आफ्ना कामदारको मृत्युपछि दशगात्र कर्म गराएका छन् । केही वर्ष अघिदेखि चिनजान भएपनि गत साउनदेखि आफ्नो घरायसी काममा सहयोगी बनेर बसेका नन्दलाल कोइरालाको जेठ १८ गते भएको निधन पछि रमेश काफ्लेले उनको दशगात्र कर्म गराएका हुन् ।
मनमोहन अस्पतालमा उपचार गराउँदा गराउँदै निधन भएका उनको शनिबार नै कनकाई माईमा हिन्दू विधिअनुसार दाहसंस्कार गरिएको हो । नन्दलालको चितामा बुवा गोविन्द काफ्ले र ब्राम्हण प्रदीप दाहालले दागबत्ती दिएका थिए ।
‘फरक थर गोत्रका मानिसको आफ्नो घरभित्र काज किरिया गर्न हुँदैन भन्ने परम्परागत मान्यतालाई तोड्दै बुवा गोबिन्दले आफ्नो घरमा काम गर्न राखेको मानिसको काजकिरिया घरभित्रै गर्ने अनुमति दिनु भएपछि मृत्यू संस्कारको लागि त्यसको परिवन्ध मिलाएका हौं’ रमेश काफ्लेले भनेका छन् ।
स्थानीय ब्राम्हण प्रदीप दाहाल र उनकी पत्नी तुलसा अहिले नन्दलालको काजकिरियामा बसेका छन् । काफ्ले परिवारको भान्जा दाहाल दम्पत्तीले पनि खुशीसाथ एकजना बेसहाराको काजकिरिया गरिरहेको बताएका छन् ।
गोबिन्द काफ्ले इतिहास तथा पुरातत्वविद् योगी नरहरिनाथका अनुयायी हुन् । उनी काफ्ले समाजका केन्द्रीय सल्लाहकार पनि छन् । सामाजिक रुपान्तरणका लागि अनेकन रचनात्मक काम गर्दै आएका ८० वर्षीय काफ्लेले आफ्ना कामदारको मृत्युपछि परम्परागत मान्यतालाई तोड्दै घरभित्रै दशगात्र कर्म गर्ने अनुमति दिएर सांस्कृतिक परिवर्तनको शंखघोष गरेका छन् ।
घरायसी काममा तलब दिएर राखेको मान्छेको मृत्यूपछिको संस्कार कसले गरिदिएका होलान र ? त्यसमाथि आफन्त बिहीन, बेसहाराहरुको अन्तिम संस्कार गर्ने यस्ता मानवीयताका धनी कति होलान् !
नन्दलाल कोइरालाले जीवनको अन्तिम घडीमा काफ्ले परिवारजस्तो उदार मन भएका, धार्मिक एवम् मानवीय मनका धनीलाई पाएका रहेछन् । जसले बिरामी हुँदा उपचारका लागि अस्पताल पुर्यायो, मृत्यु भएपछि पनि आफ्नो संस्कार र परम्परा अनुसार दशगात्र कर्म गरिदिएर मृतकको आत्माशान्तिको कामना गरिरहेको छ ।
को हुन् नन्दलाल कोइराला ?
भोजपुरमा २०१५ सालमा जन्मिएको, २ वर्षको हुँदा आमा र ६ वर्षको हुँदा बुवाको निधन भएको बताउने नन्दलाल कोइरालाको जेठ १८ गते देहावसान भएको छ । जन्मपछि मृत्यु स्वाभाविक प्रक्रिया नै हो नन्दलालको पनि भयो । जीवीत रहुन्जेल उनले आफन्त र परिवारका कसैलाई चिनाएनन् । सम्पर्कमा थिए, छन् वा छैनन् ! मृत्य हुनु दुई दिन पहिलेसम्म पनि शारीरिक परिश्रम गरेर हाँसखेल रामरौशमा व्यतित गरिरहेका थिए उनी ।
२०६८ सालमा कामको खोजी गर्दै बिर्तामोड आएका थिए नन्दलाल । उनले अर्जुनधारा ६ का युवराज काफ्लेलाई भेटे । जीवनमा कमाउनेभन्दा पनि काम गर्दै बाँच्ने र टाउको लुकाउने आश्रय चाहिएको कोइरालाले बताएका थिए । उनको काम गर्ने इच्छाशक्तिलाई बुझेर युवराजले आफ्नै मान्छेजस्तो सम्झिएर घरमा राखे ।
‘नन्दलालले बाहुनको छोरो हुँ, बेसहरा छु, ५४ वर्षको भएँ, अझैसम्म ब्रतबन्ध गरेको छैन’ भनेपछि युवराजले श्रीमती, बुवाआमा र दाजुभाइको सल्लाहमा २०६९ सालमा घरको आँगनमै यज्ञमण्डप बनाएर गुरुपुरोहित बोलाएर ब्रतबन्ध गराइदिए ।
करिब ५ वर्ष युवराजको घरमा बसेका नन्दलालले अचानक लक्ष्मीपुर छाडे । कहाँ गए, कुनै जानकारी रहेन । केही बदमासी गरेका थिएनन्, सामान्य खोजीनीति गरे पनि भेटिएन । तर सोहीवर्षको दशैंमा उनी बुवाआमाको हातबाट टिका लगाउन भनी टुप्लुक्क घरमा आइपुगे । ‘उनी धनकुटाको एउटा होटलमा काम गर्दैछु भन्थे’ बुवा गोबिन्द काफ्लेले स्मरण सुनाउनु भयो ।
‘अन्यत्र बस्दा यहाँको जस्तो राम्रो भएन, अलिअलि पैसा त कमाएँ, तर तपाईंहरुको घरमाजस्तो माया गर्ने मान्छे अरुतिर पाइँन, यतै बस्न पाए हुन्थ्यो’ कोइरालाको अपेक्षासहितको भनाई स्मरण गर्दै बुवा गोविन्दले कान्छा छोरा रमेशसँग सल्लाह गर्नुभयो । उनी गत साउनमा आफूले काम गर्दै गरेको ठाउँ छाडेर पुनः रित्तो हात लक्ष्मीपुर आए, बावुछोराको सल्लाहले नन्दलाललाई मूलघरमा आश्रय दिइयो ।
गएको वर्ष साउनदेखि घरायसी कामकाज गर्दै आएका उनै नन्दलाल कोइरालाको गत जेठ १८ गते शनिबार अकस्मात निधन भएको हो । स्वास्थ्य चौकीमा ‘ब्लडप्रेसर लो’ भनिएपनि कोइरालालाई निमोनियाँ भएको मनमोहन अस्पतालमा उपचारका क्रममा गरिएको परीक्षणबाट थाहा भएको थियो । अस्पतालबाट नन्दलाल काकालाई जिवीतै घर ल्याउन रमेशले गरेको प्रयास अन्नतः सार्थक बनेन ।
Comments