Sajhamanch Archive

झापा काँग्रेसमा गुटबन्दी चरम उत्कर्षमा, सचिव विभागीय जिम्मेवारी विहीन !

Published: in राजनीति, राष्ट्रिय समाचार, by .

झापा । नेपाली काँग्रेस यतिखेर आफ्नो पार्टीका नेता कार्यकर्ताहरुलाई सक्रिय बनाउन राष्ट्रिय जागरण अभियानमा जुटेको छ । अभियानमा जुटेका नेता कार्यकर्ता र पार्टीले सम्बन्धित जिल्लामा प्रतिनिधिका रुपमा तोकेका नेताहरु पार्टी भित्रैको बेमेलले जाताततै हार व्यहोर्नु परेको बताइरहेका छन् । यसकारण अब नेपाली काँग्रेसलाई बलियो बनाउन पार्टीभित्रै एकताको खाँचो औंल्याइरहेका छन् ।

काँग्रेस कार्यकर्ता भित्र नै आपसी मेलमिलाप नहुँदा हरेक क्षेत्रबाट पार्टीले नोक्सान व्यहोर्नु परेको नेता कार्यकर्ताले बताइरहँदा झापामा भने जिल्ला नेतृत्वमा नै टसल शुरु भएको छ । गुटबन्दी भएको भन्दै जिल्ला नेतृत्व आफ्नै नेता कार्यकर्ताबाट आलोचित बनिरहेको छ । पार्टीका नेता कार्यकर्ताहरुले आ–आफ्ना सामाजिक सञ्जालमा गुटबन्दीको विरोध गरिरहेका छन् ।

काँग्रेस जिल्ला सभापति उद्धव थापा र सचिव प्रेम सम्बाहाम्फेबीच समितिलाई पूर्णता दिने विषयमा विवाद भए पछि सचिव सम्बाहाम्फेले बैठक नै बहिस्कार गरेको समाचार बाहिर आएको छ । समाचार बाहिर आएपछि आफ्नो सामाजिक सञ्जालमा पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेतृत्वहरुले गुट कै कारणले झापामा फेरि काँग्रेस सकिने भो भनेर चिन्ता व्यक्त गर्न थालेका हुन् ।

तर सचिव सम्वाहाम्फेले भने सभापतिले आफ्नो कुनै कुराको सम्बोधन नगरेका कारण बैठकमा बस्नुको औचित्य नरहेकाले बैठक छाडेर बाहिररिएको प्रतिक्रिया दिएका छन् । ‘मैले सभापतिज्यूलाई अहिले हतारमा निर्णय नगरौं भनेर पटकपटक आग्रह गरेँ’ सचिव सम्वाहाम्फेले भनेका छन् ‘सबै पदाधिकारीले जिम्मेवारी पाउने सचिवले नपाउने सभापतिको यो निर्णयले वैठक छाडेको हुँ ।’

उनले घुमाउरो पारामा सभापतिलाई व्यङ्यात्मक शैलीमा धन्यवाद समेत दिए । ‘जे होस् मलाई जिम्मेवार विहीन बनाइए पनि सबैसँग सहकार्य गर्दै अघि बढ्ने अवसर सभापतिले दिनुभयो यसका लागि म उहाँलाई मुरीमुरी धन्यवाद दिन्छु’ उनले भनेका छन् ।

नेपाली काँग्रेस झापाले बिवादका बीच विभागीय समितिहरुलाई पूर्णता दिएको भन्दै धेरैले रोषसमेत प्रकट गरेका छन् । ‘संगठनको नाममा जिरो, गाउँमा चुनावमा उठे भने व्यक्तिगत १०० मत कटाउन गाह्रो, चुनावमा हिंडे भने आउने मत पनि नआउने गुटको भरमा जिम्मेवारी जय, जागरण जय गुटबन्दी’ नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय समिति सदस्य रुपसागर अधिकारीले आफ्नो सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरेका छन् ।

उनको यो पोस्टमा पार्टीका धेरै कार्यकर्ताले अब जय नेपाल पनि कति दिनसम्म भन्न पाइने हो भन्दै प्रतिक्रियासहित चिन्ता व्यक्त मात्र गरेका छैनन्, पार्टीका पूर्व मेचीनगर सचिव अर्जुन सुब्बाले उनको यो पोस्टलाई सही विश्लेषण भनेका छन् ।

झापामा अहिले पार्टीभित्र भइरहेको यसलाई जागरण अभियानको परिणाम भनेका छन् । गोपाल आत्रेयले पार्टीभित्रको गुटबन्दीको घोर विरोध गर्नुपर्छ भन्ने प्रतिक्रिया दिएका छन् ।

सभापतिले मनोनयम गर्न पाउने पार्टीको विधान अनुरुप विभिन्न १४ वटा उपसमिति गठन गर्दै विभागीय समितिहरुलाई पूर्णता दिए पनि पार्टीका जिल्ला सचिव सम्बाहाम्फेलाई जिम्मेवारी विहीन बनाएपछि पार्टी भित्र निक्कै खैलाबैला मच्चिएको हो ।

विधानले ब्यवस्था गरे बमोजिम उपसमिति र विभागीय समिति गठन गर्ने क्रममा कार्यसमितिका सचिव सम्बाहाम्फे संगठन विभाग प्रमुखमा बस्न चाहान्थे तर संगठन विभाग प्रमुखको जिम्मेवारी सभापति उद्धव थापाले आफैं राखेपछि सभापति र सचिवबीचको टसल शुरु भएको काँग्रेसका एक क्षेत्रीय नेताले बताएका हुन् ।

काँग्रेसले जिल्लाका सबै पदाधिकारीहरुलाई जिम्मेवारी दिए पनि निर्वाचित सचिव सम्बाहाम्फेलाई भने कुनै जिम्मेवारी तोकिएको छैन । उनलाई आदिवासी÷जनजाति विभागको संयोजकको जिम्मेवारी तयारी थियो । उनले त्यो भूमिका स्वीकार नगरेको कांग्रेसजनको भनाई छ ।

‘प्रेम दाइलाई लखेट्ने समूहले भोलि तपाईंलाई पनि बाँकी राख्नेवाला छैन । ख्याल गर्नुहोला भोलि यता न उता नहुन होला’ क्षेत्रीय सदस्य अधिकारीले यो पनि लेखेका छन् । अधिकारीको यो पोस्टमा अमर रिजालले आफ्नो यस्तो धारणा रोखेका छन् ।

‘झापामा यस्तै गुटबन्दी रहिरहने हो भने आउँदो चुनावसम्ममा काँग्रेसको हालत राप्रपाको भन्दा माथि नहोला, जागरण अभियान भनेको छ, जतागए पनि हानाहान र गुटबन्दीको कुरा मात्र आएको छ, खै कस्तो जागरण अभियान हो यो ।’

यता १ नम्बर क्षेत्रीय समितिका एकजना नेताले सभापतिको राम्रो बचाउ गरे । उनले भने– ‘सभापतिज्यूले विधानले दिएको अधिकार प्रयोग गरेर सबैलाई सँगै राखेर राम्रो काम गर्नुभएको छ, सचिवज्यूले विधान नपढ्ने अनि यस्तो गरेर हुन्छ ।’

ती नेताले नाम नलेख्ने शर्तमा भने ‘सचिवज्यू संगठन विभाग प्रमुखको जिम्मेवारी आफूले पाउने दाउमा हुनुहुन्थ्यो तर सभापति थापाले त्यो जिम्मेवारी आफैंले राख्नुभयो, सचिवलाई त्यो जिम्मेवारी दिइएको भए अहिले जसरी मिडियामा समाचार आइरहेको छ त्यो आउँदैन थियो ।’

पार्टीका जिल्ला उपसभापति राम कट्टेललाई नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विभागको संयोजक मनोनित गरिरहँदा सचिव सम्बाहाम्फेलाई जिम्मेवारी विहीन बनाउँदा पार्टीभित्र गुटबन्दी छ भन्ने प्रमाण फेला परेको काँग्रेकै नेताहरु बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *