Sajhamanch Archive

बिर्तामोडमा साताव्यापी सहकारी लेखा तालिम सुरु

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । आजदेखि बिर्तामोडमा पूर्वका चारवटा जिल्लाका दुई दर्जनभन्दा बढी सहकारीको प्रतिनिधित्व रहेको ६ दिने आधारभूत लेखापालन तालिम सुरु गरिएको छ ।

सहकारी प्रशिक्षालय प्रदेश १ इनरुवाको आयोजनामा झापा, इलाम, पाँचथर र ताप्लेजुङ्गका सहकारीकर्मीलाई तालिम दिन थालिएको हो । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको छ ।

तालिम उद्घाटन गर्दै झापामा सहकारी प्रशिक्षालयले यस्तो महत्वपूर्ण तालिमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै अध्यक्ष ढकालले कुनै पनि सहकारी कति व्यवस्थित छ भन्ने कुरा उसको लेखापालन हेर्दा थाहा पाइने भएकाले तालिमको वजन गहकिलो रहेको बताए ।

तालिममा सहभागीहरुले आ–आफ्नो संस्थाको आर्थिक कारोबार व्यवस्थित गर्न तालिमले पक्कै पनि मार्गदर्शन गर्नेछ भन्दै अध्यक्ष ढकालले राज्यले सहकारीका लागि बेलाबखत बनाउने आर्थिक नीतिका बारेमा समेत सहजीकरण हुनुपर्ने आयोजकलाई सुझाए ।

प्रशिक्षालयका निमित्त प्राचार्य लिलाबल्लभ चापागाईंको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा उनले दुई महिना अगाडिमात्र स्थापना भई कार्यक्षेत्रमा खटिएको प्रशिक्षालयको यो दोस्रो तालिम भएको जानकारी दिए ।

सफ्टवेयरमार्फत् हिसाब राख्ने सहकारी संस्थाहरुका लागि यो तालिमको महत्व गौंण होला तर मेनुअल्ली लेखा राखिरहेका संस्थाका लागि तालिम महत्वको हुने प्राचार्य चापागाईंको भनाई छ ।

सहकारी डिभिजन कार्यालयहरुले स्थानीय तह र प्रदेश सरकारलाई सहकारीको विवरणसहित पाइल हस्तान्तरण गरेको वर्षदिन बितेको भए पनि खासै काम नथालेको प्राचार्य चापागाईंको आरोप छ ।

तालिम उद्घाटन कार्यक्रममा साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले पछिल्लो समयमा सहकारीलाई कालो धन थुपार्ने संस्थाको आरोप लागिरहेकोमा सहकारीका सञ्चालकहरुले बचतमा आएको रकमको स्रोत खुलाएरमात्र जम्मा गर्ने व्यवस्था मिलाउन ढिला गर्न नहुने सुझाव दिए ।

सहकारी प्रशिक्षालयका नासु किशोर खतिवडाले सञ्चालन गरेको तालिम उद्घाटन कार्यक्रममा प्रशिक्षालयका नरेन्द्र पराजुलीले शाब्दिक स्वागत गरेका थिए । आधारभूत लेखापालन तालिम जेठ ३२ गतेसम्म चल्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *