Sajhamanch Archive

निःशुल्क स्वास्थ्य शिविरबाट बिर्तामोडमा ४५० ले पाए औषधीसहित सेवा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । बिर्तामोड नगरपालिकाको आयोजनामा अनारमनी स्वास्थ्य चौकी बिर्ताबजार र वडा नं. ३ को प्रगति महिला समूहको आयोजनामा भएका दुई छुट्टाछुट्टै निःशुल्क स्वास्थ्य शिविरबाट ४५० जना बिरामी लाभान्वित भएका छन् ।

‘मेयरसँग ज्येष्ठ नागरिक’ कार्यक्रम अन्तरगत बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरबाट ३३९ जनाले सेवा लिएका छन् । बि एण्ड सी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा स्त्रीरोग सम्बन्धी १३९ जना, हाडजोर्नी तथा नशा रोग सम्बन्धी ७२ जना र जेनेरल फिजिशियनसँग सम्बन्धित १२८ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

 

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले दिएको विवरण अनुसार स्त्रीरोग सम्बन्धी स्वास्थ सल्लाह लिन आएकामध्ये १३० जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण (भिआईए टेष्ट) गरिएको छ । तीमध्ये २ जनामा पाठेघरको क्यान्सरको शंका गरी तत्काल उपचारार्थ अस्पताल पठाइएको छ ।

यसैगरी ३१ जनामा एसटीआई (सेक्सुअल ट्रान्सफर्म इन्फेक्सन) र ६ जनामा पाठेघर खस्ने समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख दंगालले बताए ।

स्वास्थ्य शिविरमा समस्या लिएर आएका बिरामीहरुलाई निःशुल्क औषधी प्रदान गरिएको तथा ६० वर्षभन्दा माथिका ७० जना हाराहारी ज्येष्ठ नागरिकहरुलाई प्रोटिनजन्य पाउडर वितरण गरिएको छ ।

यसैगरी, बिर्तामोड नगरपालिका ३ नं वडा कार्यालयकोे आर्थिक सहयोगमा प्रगति महिला समूहले आयोजना गरेको स्वास्थ्य शिविरबाट ११० जना लाभान्वित भएका छन् । निःशुल्क स्वास्थ्य शिविरबाट पाठेघरको समस्या भएका महिलालाई फाइदा पुगेको छ । प्रगतिनगर टोलमा गरिएको स्वास्थ्य शिविरमा स्त्री रोग विशेषज्ञ डा. ममता घिरैया राजवंशीले स्वास्थ्य परीक्षण गरेकी थिइन् ।

आयोजक समूहकी अध्यक्ष सुमित्रादेवी अधिकारीले दिएको जानकारी अनुसार निःशुल्क स्वास्थ्य परीक्षणसँगै बिरामीहरुलाई ३० हजार मूल्य बराबरको औषधी पनि वितरण गरिएको छ । पाठेघरमा भएका समस्या महिला चिकित्सकलाई नै खुलेर देखाउन र सल्लाह लिन पाएकोमा शिविरमा सहभागी जानुका भण्डारीले खुशी ब्यक्त गरेकी छन् ।

बिर्तामोड ३ नं. वडाका अध्यक्ष भोजराज सिटौलाले स्वास्थ्य शिविरको उद्घाटन गर्दै सबै सेवाग्राहीलाई सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी बन्न आग्रह गरे । उनले महिला सशक्तिकरणका लागि वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिवद्घता पनि ब्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *