सतासीका पौरखी महिलाद्वारा यो वर्ष ६० टन मह उत्पादन
Published:
by .मौरी किसानले ३८ लाख रुपैयाँका सामग्री अनुदानमा वितरण
शिवसताक्षी । सतासी महिला मौरीपालन सहकारी संस्था, दूधेका मौरीपालक किसानले यो वर्ष ६० टन मह उत्पादन गरेका छन् । गतवर्षसम्म २० टनभन्दा धेरै मह उत्पादन नगरेका मौरी किसानले यो वर्ष तीन गुणभन्दा बढी उत्पादन गरेको संस्थाद्वारा आज आयोजित कार्यक्रममा जानकारी दिइएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत व्यवसायिक कृषि उत्पादन केन्द्र, मौरी ब्लकको नेतृत्व गर्दै आएको सो सहकारी संस्थाका १८४ परिवार मौरीपालनमा लागेका छन् । ती सदस्यसँग रहेका २५ सय गोला मौरीबाट चालू आर्थिक वर्षमा ६० टन मह उत्पादन भएको अध्यक्ष केशमाया थोब्राले जानकारी दिइन् ।
आज आयोजित मौरी किसानलाई अनुदान सामग्री हस्तान्तरण तथा सार्वजनिक सुनवाईमा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थोब्राले ६० टन गुणस्तरीय मह उत्पादन गरिए पनि हालसम्म २० टनमात्र बिक्री भएकाले बजार खोज्न आवश्यक भइसकेको बताइन् ।
कृषि विकास निर्देशनालय प्रदेश १ बिराटनगरका प्रमुख बेनुप्रसाद प्रसाईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ४१ परिवार मौरी पालक किसानलाई ३६ लाख १८ हजार ७५० रुपैयाँ मूल्य बराबरका सामग्रीहरु अनुदानमा प्रदान गरिएको छ ।
उक्त अनुदान रकम कृषि ज्ञान केन्द्र झापामार्फत् २५ लाख रुपैयाँ, चालू अनुदानतर्फ ८ लाख ७५ हजार रुपैयाँ र संस्थाको आन्तरिक स्रोतबाट २ लाख ४३ हजार ७५० रुपैयाँ रहेको संस्थाका व्यवस्थापक देवी दाहालले बताइन् ।
अनुदानबाट खरिद गरिएका मह उत्पादन गर्ने सामग्रीहरुमा मौरी घर ३०० थान, मह मदानी २० थान, मैन बाकस २० थान र २०० थान स्टेण्ड रहेका छन् । यसैगरी ५ हजार केजी चिनी, २ हजार केजी फापर, एक हजार ५०० केजी चना र ८०० केजी आधार चाका रहेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका सल्लाहकार सन्तकुमारी मुखियाले ‘अल्छेले मौरी पाल्दैन, मौरी जति उढ्छ किसानले उत्ति नै पछ्याउन सकेमात्र यसबाट लाभ लिन सकिन्छ । यही मान्यताबाट आफूहरुले १६ वर्ष अघि २–२ घार मौरी पालेर मह उत्पादन गर्न थालेको’ बताएकी छन् ।
कार्यक्रमका सबैजसो वक्ताहरुले चरिचरनको उचित व्यवस्था नहुँदा मौरी किसान मारमा परिरहेको चिन्ता व्यक्त गरेका थिए । अन्न बाली उत्पादक कृषकलाई मौरीले बालीनालीमा परागसेचन गराएर उब्जनी बढाउँछ भन्ने ज्ञान नहुँदा चरिचरनको अवसर नबनेको भन्दै नीति निर्माण तहमा यसको छलफल हुनुपर्ने आग्रह गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ कृषि निर्देशनालय प्रमुख प्रसाईले हाम्रो समाजको बुझाई, कसैले गरिखाएको हेर्न नसक्ने तथा नकारात्मक सोच्ने बानीका कारण मौरी चरिचरनमा समस्या रहेको आफूले बुझेको बताए । प्रदेश सरकारसँग बसेर यसबारे नीति बनाउने र सम्वद्ध मौरीपालक किसानसँग प्रदेशस्तरीय छलफल आयोजना गर्ने बचन दिए ।
उनले मौरी पालेर मह उत्पादन गर्ने कार्यले प्रदेशलाई समृद्ध बनाउन सक्ने भएकाले किसानले उठाएका जायज विषयलाई आफ्नो तहबाट सक्नेसम्म नीति, विधि बनाएर यो पेसाको प्रवद्र्धन गर्ने आश्वासन दिए ।
अर्का वक्ता वरिष्ठ कृषि विकास अधिकृत पशुपति पोखरेलले यो कार्यक्रममा आएर आफूलाई नयाँ अभियान चलाउनु पर्ने आवश्यकता खड्किएको भन्दै मौरीको चरन व्यवस्थापनका लागि आसपास किसानलाई विज वितरण गरी सहकार्य गर्न सकिने विश्वास व्यक्त गरे ।
‘डिलमा बस्ने हिलोमा नपस्ने’ संस्कृतिको विकास भइरहेको वर्तमान परिवेशमा किसानलाई चेतना एवम् जागरण गर्नु आफ्नो पहिलो कर्तब्य भएको बताउने कृषि ज्ञान केन्द्र झापाका प्रमुख शालिकराम भट्टराईले बजेट भएर पनि प्राविधिक जनशक्तिको अभावले आएको बजेट फ्रिज हुने अवस्थामा रहेको जानकारी गराए ।
सो कार्यक्रममा कृषि ज्ञानकेन्द्र पाँचथरका प्रमुख नरहरि निरौला, शिवसताक्षी नगरपालिकाका सहकारी डेक्स प्रमुख बद्री दाहाल, पत्रकार गोपाल काफ्ले र टिकाराम उप्रेती तथा संस्थाका लेखा संयोजक फूलकुमारी चौधरीले आ–आफ्ना धारणा राखेका थिए ।
Comments