Sajhamanch Archive

डेंगुको संक्रमणबाट जोगिन झापाबासीलाई सार्वजनिक आग्रह

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य, by .

झापा । सहरको रोग पनि भनिने डेंगु झापामा पहिलोपटक सन् २०१२ मा काँकरभिट्टामा फेला परेको थियो । ५०० भन्दा बढी होटलहरु रहेको, बसपार्क पनि भएको र अत्याधिक संख्यामा गाडीका ग्यारेजहरु रहेको शहर काँकरभिट्टामा त्यसबेला डेंगु संक्रमणले प्रकोप कै रुप लिएको थियो ।

सात वर्षअघि जिल्लामा पहिलोपटक डेंगु फेला परेको थियो सो पछि हरेक वर्षजसो देखिएको छ । त्यसयता हरेक वर्ष डेंगुबाट जोगिने उपायबारे ठाउँ–ठाउँमा चेतना अभियान चलेको छ । तर, तत्कालै चाहिँ सजग हुने सर्वसाधारणले संक्रमण घटेपछि पीडा भुल्दै जान्छन् । यसैले संक्रमण एकैपटक धेरैमा फैलिने गरेको स्वास्थ्य विज्ञहरुको भनाई छ ।

पछिल्लो समय सुनसरीको धरानमा प्रकोपको रूप लिइसकेको डेंगु मोरङसँगै झापामा पनि देखिएपछि यसबाट बच्न जिल्लाबासीलाई आग्रह गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जिल्लामा डेंगुको संक्रमण फैलिन नदिन समयमै उच्च सतर्कता अप्नाउन निर्देशन दिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, जिल्लाका १५ वटै पालिकाका स्वास्थ्य शाखा संयोजक, जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन, जिल्लास्थित सुरक्षा निकायका उच्च अधिकारीसहितको आकस्मिक बैठक बसेको थियो ।

हालसम्म जिल्लाको भद्रपुर, बिर्तामोड, अर्जुनधारा लगायतका पालिका ८ जना डेंगु संक्रमिता व्यक्ति फेला परेको बताइएको छ ।

बैठकसँगै मेचीनगर नगरपालिकाले आजै नगरमा डेंगु संक्रमण हुन नदिन सबैलाई आ–आफ्नो स्थानबट सहयोग गर्न आग्रह गरेको छ । आफूलाई पर्याप्त जानकारी भए पनि पूर्व सतर्कता अपनाउन नचाहने सर्वसाधारणको बानीले डेंगु संक्रमणलाई तीब्ररुपमा फैलाउन मद्दत गरिरहेको छ । जनस्वास्थ्य क्षेत्रका जानकारहरु सर्वसाधारणले थोरै मात्रै सतर्कता देखाउँदा मात्रै पनि डेंगु संक्रमणबाट बँच्न सकिन्छ ।

तीब्र सहरीकरणसँगै फोहोरको अव्यवस्थित बिसर्जन नै डेंगु संक्रमण बर्सेनी दोहोरिने मुख्य कारण भएको विज्ञहरुले बताएका छन् । केही समयसम्म चितवनमा मात्रै सिमित यसकोे संक्रमण केही दिनयता सुनसरी, झापा तथा मोरङमा पनि उच्च छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले डेंगु संक्रमणबाट जोगिन र जनचेतनामूलक अभियानबाटै यो रोग निर्मुल पार्नु बढी प्रभावकारी हुने भएकाले विविध चेतनामूलक कार्यक्रम गर्ने जनाएको छ ।

मेचीनगरमा डेंगु फैलिन नदिन नगरभरका शहरी क्षेत्रमा सरकारी तथा जनस्तरबाटै चेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको नगरप्रमुख विमल आचार्यले बताए । उनले यसअघि डेंगुबाट जोगिन सर्वसाधारणले पहिले जानेको सतर्कता शुरुमै अपनाउन र उपाय पनि कार्यान्वयन गर्न आग्रह गरेका छन् । उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरमा डेंगु सक्रमण फैलिन नदिन हरेकले आ—आफ्नो क्षेत्रबाट बेलैमा उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *