Sajhamanch Archive

आजको मान्छेले बनाइरहेको समाज यस्तो देखेँ मैले

Published: in मुख्य समाचार, विचार/ब्लग, समाज, by .

गहिरिएर विचार गर्ने हो भने हाम्रो समाज बिस्तारै विकृति, विसङ्गति, अराजकतातर्फ उन्मुख हुँदै गएको पाइन्छ । नेपाली समाज बितेका ४० वर्ष र अहिलेको मात्र तुलना गर्दा पनि यो तथ्यको पुष्टि हुन्छ । पहिले समाजमा मानिसहरुका बीच सामुहिक भावना प्रवल थियो । जसका कारण सामाजिक कार्यहरु प्रसस्त मात्रामा हुन्थे । मानिसमा सेवाको भावना थियो । व्यक्तिवादी नभई सामुहिक भावना र सामाजिक चेतनाको पर्याप्तता थियो । मानिसहरुमा सत्य, धर्म र न्यायप्रति विश्वास थियो । यसका विरुद्ध जाने साहस जो सुकैले गर्दैनथे । प्रेम, दया, क्षमा र सहिष्ण्ुतामा भावना बलियो थियो । मानिसहरुमा मानवीय भावना प्रसस्त पाइन्थ्यो । गाउँ समाजमा शान्ति र सुव्यवस्था थियो ।

आज हाम्रो समाज यस्तो पाइँदैन । यस बीचमा विकास, प्रगति, उन्नति र चेतनाको बिस्तार प्रशस्त मात्रमा भएको छ । भैतिक विकासले धेरै फड्का मारेको छ । मानिसलाई सुख सुविधा पहिलेभन्दा अहिले धेरै छन् । पहिलाको तुलनामा लाउन, खान, पर्याप्त छ । स्वास्थ्य सेवामा प्रगति छ । राष्ट्रिय चेतना र आधुनिक जीवन शैलीमा समाज अभ्यस्त हुन थालेको छ । मानिसहरु भोगी, बिलासी, सुखी र सम्पन्न भएका छन् । तर पनि तिनमा खुसी र आनन्द अलिकम पाइन्छ । सुखी भएर पनि खुसी हुन कठिन हुँदैछ । समृद्धिले पनि शान्ति र आनन्द लिन सकेको छैन । यसका साथै आजको मान्छे दीनहीन, रुग्ण, फोहोरी र अश्लील बन्दै गएको छ । उसमा व्यक्तिवादी चरित्र र भोगवादी प्रवृत्ति निकै बढेको छ । पारिवारिक बिखण्डन बढेको छ । संयुक्त परिवारको त कुरै छाडौं, श्रीमान श्रीमती मात्र पनि मिलेर बस्न कठिन बन्दै गएको छ । पारपाचुके गर्ने वा बेमेलका कारण श्रीमान श्रीमतीमा छोडपत्रको पवृत्ति हवात्तै बढेको देखिन्छ ।

मानिसमा मानवीय भावना हराउँदै छ । धन सम्पत्तीको महत्व अति बढ्नाले मानिसमा द्रव्यपिशाची प्रवृत्ति निक्कै बढेको छ । आजको मान्छे रसिक, मिठासपूर्ण धार्मिक र सामाजिक छैन । व्यक्तिवादी स्वार्थी प्रवृत्तिमा बढोत्तरी छ । दया, प्रेम, क्षमा, सेवाजस्ता भावनामा ठूलो ह्रास आएको छ । समाज समाजजस्तो छैन । मान्छेलाई मान्छे भन्नै नसुहाउने भइसक्यो । ऊ यति तुच्छ, पतीत, घृणित र निरश भयो कि सायद ऊ मेसिन हो । आजको मान्छे यन्त्र झैं जडवत छ । यन्त्र झैं ऊ निरन्तर काम गर्छ र खुसी र सन्तुष्टि छैन । समाजमा सम्पन्नता बढेको होला, तर पनि ऊ रित्तो र खोक्रो सम्पन्नता भन्छ । समाजका सदस्य बीचमा परस्पर मेलमिलाप, सरसहयोग, ऐचोपैँचो, बस्तुका बीच आदान प्रदान हराउँदै गएके आभास हुन्छ । उसैका छिमेकीसँग परिचय हुँदैन । तल्लो घरमा शोक पर्दा छेउको घरले थाहा पाउँदैन । पल्लो घरमा विवाहोत्सव छ, ओल्लो घरको मान्छे सहयोग गर्न सक्दैन ।

गम्भीरतापूर्वक सुक्ष्म अध्ययन गर्ने हो भने हाम्रो समाज र हामी मान्छे अहिले धेरै परिवर्तन भइसकेका छौँ । सामाजिक मूल्य, मान्यता प्रति प्रेम र विश्वास दुवै छैन । एउटा समाजका सदस्य हौँ भन्ने आत्मीय भाव र मैत्रीपूर्ण व्यवहार अहिलेको समाजमा पाइँदैन । आजको मान्छे छिमेकीको खुसीमा हाँस्न सक्दैन र मित्रको दुखामा साथ हुँदैन । ऊ यति कठोर र यान्त्रिक छ कि ऊ कसैको खुसीमा हाँस्न वा दुखमा रुन सक्दैन । दया, माया, प्रेम, विश्वास, क्षमाजस्ता भाकाहरु तिरन्तर ह्रास भइरहेका छन् । अनि स्वार्थ, लोभ, मोह, रिसराग, इष्र्या र द्वेष, लोभहरु निकै बढेका छन् । मानिस अझ क्रुर, निर्दयी, पापी, षडयान्त्रकारी र हिंस्रक र पाषण हृदयी, बन्दै गएको छ । यसले हाम्रो समाजलाई कहाँ पुर्याउँछ कसैलाई थाहा छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *